News Portal

  • सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

    आर्थीकसंसार संवाददाता९ कार्तिक, २०८३
    १६ पटक
    ९ कार्तिक, २०८३

    काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा सुदूरपश्चिमलाई ७ विकेटले हराएको छ ।

    सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले एनपीएलको लिग चरणमा सुदूरपश्चिमविरुद्ध पहिलो पटक जित निकालेको हो ।

    यसअघि दुई संस्करण खेल्दा टोलीले सुदूरपश्चिमलाई लिग चरणमा हराउन सकेको थिएन ।

    लुम्बिनीले जित निकाल्ने क्रममा सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य ९.४ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

    लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

    आसिफ शेखले ३२ रन बनाए । निरोशन डिक्वेला ७ रनमा बोल्ड हुँदा शमिम हुसेन एक र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा समेटिएको थियो ।

    सुदूरपश्चिमलाई सुरुवातमै धारासायी बनाउने क्रममा लुम्बिनीका किशोर महतोले ४ विकेट लिँदा शेर मल्लले ३ तथा स्याड्ली भान सल्कवाए र तिलक भण्डारीले १-१ विकेट लिए ।

    जितसँगै लुम्बिनीले प्रतियोगितामा दुई अंक जोडेको छ । अब लुम्बिनीले दोस्रो खेलमा आगामी अक्टोबर ३१ मा चितवन राइनोजविरुद्ध खेल्ने तालिका छ ।

    सुदूरपश्चिमले भने अक्टोबर २८ मा पोखरा एभेन्जसविरुद्ध खेल्नेछ ।

    भोलि (मंगलबार) एनपीएलका दुई खेल हुनेछन् । पहिलो खेल अपरान्ह साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । भाेलि नै साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

    प्रतिकृया दिनुहोस्