News Portal

  • नबिल बैंकको ४२औं वार्षिक साधारणसभा सम्पन्न, १५.८० प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२२ असोज, २०८३
    ८ पटक
    २२ असोज, २०८३

    काठमाडौं । नबिल बैंक लिमिटेडको ४२औं वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

    बिहीबार (आज) सम्पन्न बैंकको साधारणसभाले  आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो ।

    सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीका लागि आठ प्रतिशत लाभांशसमेत पारित गरेको छ । साधारणसभा उद्घाटन कार्यक्रममा पहिलो पटक मौलिक संस्कृतिको प्रवर्द्धन गर्दै प्रस्तुति प्रस्तुत गरिएको थियो ।

    साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट साधारण सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

    समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड नाघेको छ ।

    आर्थिक वर्ष २०८२/८३ मा बैंकले ७ अर्ब ९१ करोड खुद मुनाफा आर्जन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा निक्षेप दायित्व ६९ अर्ब ६७ करोड अर्थात् १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड पुगेको जनाएको छ ।

    साथै सोही अवधिमा कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड अर्थात् १२.१५ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड पुगेको छ । बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वासलातको आकार १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७६ करोड पुगेको छ ।

    सभामा अध्यक्ष चौधरीले नबिल बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए ।

    बैंक देश, समाज, सेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारीलगायतका विभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर काम गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको अध्यक्ष चौधरीले उल्लेख गरे ।

    नबिल बैंक स्थापना गर्दाको चुक्ता पुँजी हाल ९६० गुणाले वृद्धि भएको जनाइएको छ ।

    साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ ।

    नबिल बैंकले देशभर २६२ शाखा तथा ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ ।

    प्रतिकृया दिनुहोस्