१३ असोज, २०८३ ललितपुर । जनस्वास्थ्य कार्यालय, ललितपुरले गरेको वार्षिक स्वास्थ्य सेवा मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम भएको छ ।
जनस्वास्थ्य कार्यालयले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा ललितपुर जिल्लाका १५ वटा निजी अस्पताल सहभागी भएका थिए । कार्यक्रममा अस्पतालहरूले वर्षभरि प्रवाह गरेका स्वास्थ्य सेवासम्बन्धी तथ्यांक प्रस्तुत गरेका थिए ।
वार्षिक समीक्षाका क्रममा विभिन्न स्वास्थ्य सेवा सूचकका आधारमा अस्पतालहरूको सेवा प्रवाह र कार्यसम्पादन मूल्यांकन गरिएको थियो । उक्त मूल्यांकनमा किष्ट शिक्षण अस्पतालले उत्कृष्ट प्रदर्शन गर्दै सहभागी निजी अस्पतालमध्ये पहिलो स्थान हासिल गरेको हो ।
स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जनस्वास्थ्य कार्यालय, ललितपुरले अस्पताललाई प्रशंसापत्र प्रदान गरेको छ ।
अस्पतालका अनुसार प्राप्त सम्मान गुणस्तरीय स्वास्थ्य सेवा, प्रभावकारी व्यवस्थापन र तथ्यमा आधारित सेवा प्रणालीलाई प्राथमिकता दिँदै आएको प्रयासको मान्यता हो । यस उपलब्धिले स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको अस्पतालले जनाएको छ ।
ग्वार्को, ललितपुरमा रहेको किष्ट शिक्षण अस्पताल सन् २००६ मार्च २३ देखि सञ्चालनमा छ । करिब दुई दशकदेखि स्वास्थ्य सेवा दिँदै आएको अस्पतालले जटिल तथा गम्भीर अवस्थाका बिरामीका लागि विशेषज्ञ चिकित्सकीय सेवा, उन्नत प्रविधि र आधुनिक उपचार सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।
अस्पतालले आगामी दिनमा पनि गुणस्तरीय, विश्वसनीय तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।




