Skip

News Portal

  • एनआईसी एशियाबाट भीआरएसमा बाहिरिँदै डीसीईओसहित ६ जना, १५ महिनाको तलब पाउने

    आर्थीकसंसार संवाददाता १२ असोज, २०८३
    ६१ पटक
    १२ असोज, २०८३

    काठमाडौं । एनआईसी एशिया बैंकबाट ६ जना कर्मचारी स्वेच्छिक अवकाश सुविधा (भीआरएस)मा बाहिरिने भएका छन् । बैंकले ल्याएको भीआरएसमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोषकुमार राठी, सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) अर्जुनराज खनियाँ, वरिष्ठ प्रबन्धक कैलाश गौतम, उपप्रबन्धकद्वय सुनिल मानन्धर र कानुनीतर्फका उपप्रबन्धक मनोज अधिकारी तथा सहायक प्रबन्धक देवेन्द्र भट्टले आवेदन दिएका हुन् ।

    बैंकका अनुसार भीआरएसअन्तर्गत बाहिरिन चाहेका कर्मचारीहरूको निवेदन पनि स्वीकृत भइसकेको छ । भीआरएसअन्तर्गत बाहिरिन लागेका कर्मचारीले १५ महिनाको तलब बराबरको सुविधा पाउने बैंकले जनाएको छ ।

    भीआरएस लिएर बाहिरिने कर्मचारीले प्रयोग गर्दै आएका सवारीसाधनलाई व्यावसायिक कर्जामा रूपान्तरण गर्न सक्ने व्यवस्था गरिएको छ । कर्मचारीका रूपमा पाउँदै आएको सुविधाबाहेक अन्य ग्राहकसरहका सुविधा भने उनीहरुले पाउनेछन् । उनीहरूले चाहेमा आफूले प्रयोग गर्दै आएको सवारीसाधनलाई लिन चाहेमा व्यावसायिक कर्जामा रूपान्तरण गर्न सक्ने बैंकले जनाएको छ ।

    त्यस्तै, कर्मचारीका रूपमा लिएका कर्जालाई अब सामान्य ग्राहकका रूपमा रुपान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    बैंकले यसपटक सहायक प्रबन्धक तहसम्मका कर्मचारीलाई लक्षित गरेर भीआरएस ल्याएको हो । बैंकले जुन तहका कर्मचारीबाट भीआरएसका लागि आवेदन आउने अपेक्षा गरेको थियो, सोहीअनुसार आवेदन आएको जनाएको छ । बैंकले भीआरएस कार्यक्रमलाई खर्च कटौतीका रुपमा मात्रै नलिएको जनाएको छ । संस्थालाई आवश्यकता अनुसार चुस्तदुरुस्त राख्ने उद्देश्यले भीआरएस सुविधा ल्याइएको बैंकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्