News Portal

  • जेनजी आन्दोलनमा गोली नचलाउनु र दमन नगर्नु भनेको हुँ: केपी ओली

    आर्थीकसंसार संवाददाता३ असोज, २०८३
    ३७ पटक
    ३ असोज, २०८३

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आफूले दमन नगर्न र गोली नचलाउन निर्देशन दिए पनि गोली चलाइएको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै ओलीले भदौ २३ गते नवयुवासहितका युवाको हत्या योजनाबद्ध र षड्यन्त्रपूर्ण ढंगले गराइएको दाबी गरे । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रूपमा लुटपाट, हिंसा, आतंक र अराजकता फैलाइएको उनको भनाइ छ ।

    ओलीले आन्दोलनका क्रममा गोली चलाउने विषयमा आफूले दमन नगर्न निर्देशन दिएको भन्दै गोली कसरी चल्यो भन्ने विषय षड्यन्त्रपूर्ण रहेको बताए । उनले घटनाबारे विभिन्न अन्तर्राष्ट्रिय खोज, अध्ययन तथा अनुसन्धानका प्रतिवेदन, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्रीले समेत विभिन्न पक्ष उजागर गरेको दाबी गरे ।

    उनले भने, ‘गत वर्ष एउटा नरहत्याको योजना रचना गरियो । त्यस योजना अन्तर्गत २३ गते अनावश्यक ढंगले नवयुवाहरू र अरू युवाको हत्याको काण्ड घटाउने काम भयो योजनाबद्ध ढंगले, षड्यन्त्रपूर्ण ढंगले । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रूपमा लुटपाट, हिंसा, आतंक, अराजकता फैलाउनु थियो, त्यो फैलाइयो ।’

    ओलीले भदौको हिंसा तथा तोडफोडलाई आधार बनाएर आफूहरूमाथि दोष थोपर्ने प्रयास भएको बताए । उनले आफूले गोली नचलाउन र दमन नगर्न भनेको भए पनि आन्दोलनका क्रममा गोली कसरी चल्यो भन्ने विषयमा छानबिन हुनुपर्ने बताए ।

    त्यस्तै, उनले नेपाललाई अराजकतातर्फ धकेलेर असंवैधानिक सरकार स्थापना गर्ने र आफ्ना स्वार्थ पूरा गर्ने षड्यन्त्र भएको दाबी गरे । संविधान र लोकतान्त्रिक प्रक्रियाबाट अघि बढिरहेको मुलुकलाई सडकबाट केही हजार मानिस अगाडि सारेर ध्वस्त पार्ने प्रयास भएको उनको आरोप थियो ।

    ओलीले देशलाई पुनः अन्धकार युग र अराजकतातर्फ फर्काउने प्रयास भइरहेको पनि बताए । उनका अनुसार मुलुकमा विधि, पद्धति र प्रक्रियाभन्दा बलजफ्तीका माध्यमबाट काम गर्ने प्रवृत्ति बढेको छ ।

    उनले भने, ‘कतिपय पछाडि, ब्ल्याक होलतिर, अन्धकार युगतिर फर्काउने, अराजकतातिर फर्काउने प्रयासमा जुटिरहेका छन् । स्थिति होइन, विधि होइन, पद्धति होइन, प्रक्रिया होइन, बलजफ्तिका यस्ता तरिका अवलम्बन भइरहेका छन् ।’

    ओलीले अराजक तरिकाले मुलुक र संवैधानिक निकाय तथा संस्थाहरू सञ्चालन गर्ने प्रयास भइरहेको आरोप लगाए । अराजकताले हिंसा, अकर्मण्यता, गैरजिम्मेवारी र दिशाहीनता निम्त्याउने भन्दै उनले लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीबाट मुलुक सञ्चालन हुनुपर्ने बताए ।

    गत भदौ २३ र २४ गतेको आन्दोलन संविधान र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने उद्देश्यले आयोजना गरिएको ओलीको दाबी थियो । उनले उक्त घटनामा कसको संलग्नता थियो भन्ने विषय बिस्तारै खुल्दै गएको बताए ।

    ओलीले विभिन्न शक्तिहरू नेपाललाई ‘कुबातो’तर्फ धकेल्न सक्रिय रहेको दाबी गर्दै गत निर्वाचनको मौन अवधिमा बीबीसीले नेपालमा गलत सूचना सम्प्रेषण गरेर मतदातालाई दिग्भ्रमित पार्न खोजेको आरोपसमेत लगाए ।

    उनले स्थापित भनिएका कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसमेत नेपालमा असत्य सूचना फैलाएर जनतालाई दिग्भ्रमित पार्न उद्यत भएको जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्