News Portal

  • लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले असोज २८ गते डाक्यो साधारण सभा

    आर्थीकसंसार संवाददाता३ असोज, २०८३
    २९ पटक
    ३ असोज, २०८३

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज २ गते बसेको बैठकले असोज २८ गते बिहान ११ बजे कास्कीको पोखरास्थित होटल पोखरा ग्रान्डमा २८औँ वार्षिक साधारण सभा बोलाएको हो ।

    सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँको ३ प्रतिशतका दरले ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ३ प्रतिशतका दरले ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ नगद गरी कुल ६ प्रतिशत अर्थात् ७२ करोड ५१ लाख ७२ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ ।

    यस्तै, सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीहरू माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ ।

    सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको नियुक्तिका शर्त र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

    अग्राधिकार सेयरधनीलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर पुँजी ३ अर्ब रुपैयाँको ८.२५ प्रतिशतका दरले सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असारसम्म समानुपातिक रूपमा हुन आउने ७ करोड ४५ लाख ८९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

    सभाले स्वतन्त्र सञ्चालक पदमा चार वर्षका लागि अर्जुनकुमार गौतमलाई नियुक्त गरिएको निर्णय अनुमोदन गर्नेछ । यस्तै, संस्थापक समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको बाँकी कार्यकालका लागि निर्वाचन गर्नेछ ।

    बोनस सेयर वितरणपछि कायम हुने बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्रका सम्बन्धित दफा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । साथै, सञ्चालक समितिको बैठकसम्बन्धी बैंकको नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सञ्चालकहरूको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी नियममा रहेका विद्यमान व्यवस्था हटाउने प्रस्तावसमेत सभामा पेस गरिनेछ ।

    लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले उक्त दिनभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्