News Portal

  • सिद्धार्थ बैंकले २० प्रतिशत लाभांश दिने

    आर्थीकसंसार संवाददाता१ असोज, २०८३
    ३३ पटक
    १ असोज, २०८३

    काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    बैंक सञ्चालक समितिको असोज १ गते (आज) बसेको ४८२औं बैठकले साधारण सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    प्रस्तावित नगद लाभांशमा लाभांश करसमेत समावेश छ ।

    यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्म ८.२५ प्रतिशतका दरले हुन आउने रकम समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ । उक्त रकममा नगद लाभांशमा लाग्ने करसमेत समावेश हुनेछ ।

    साधारण सेयरतर्फ बैंकको हाल कायम चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको १० प्रतिशत बराबर अर्थात् १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको बोनस सेयर प्रस्ताव गरिएको छ ।

    त्यसैगरी, सोही चुक्ता पुँजीको १० प्रतिशत अर्थात् १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

    अग्राधिकार सेयरतर्फ कायम ३ अर्ब ५० करोड रुपैयाँमा ८.२५ प्रतिशतका दरले १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको छ । यो लाभांश पनि सेयर बाँडफाँड भएको मितिदेखि समानुपातिक रूपमा प्रदान गरिनेछ ।

    बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

    बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११ करोड रुपैयाँ अर्थात् ३.३२ प्रतिशतले बढी हो ।

    प्रतिकूल बजार अवस्थाका बाबजुद बैंकले निष्क्रिय कर्जाको अनुपात ३.५२ प्रतिशतमा सीमित गर्न सफल भएको जनाएको छ ।

    २०८३ असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १४ अर्ब ७९ करोड रुपैयाँ र अग्राधिकार सेयर ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

    यस अवधिमा बैंकको नेटवर्थ ३६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५ अर्ब ९१ करोड रुपैयाँले बढी हो ।

    बैंकको प्रतिशेयर नेटवर्थ पनि बढेको छ । आर्थिक वर्ष २०८२र८३ मा प्रतिशेयर नेटवर्थ २२४ रुपैयाँ ८९ पैसा पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा २१९ रुपैयाँ ७७ पैसा थियो । यसअनुसार प्रतिशेयर नेटवर्थ २.३३ प्रतिशतले बढेको छ ।

    त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७८ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २२ रुपैयाँ ७६ पैसा थियो ।

    प्रतिकृया दिनुहोस्