News Portal

  • शेष घलेको बाढी प्रभावित बालबालिकालाई पढाउन करिब ५८ करोड सहयोग

    आर्थीकसंसार संवाददाता३ असोज, २०८३
    २६ पटक
    ३ असोज, २०८३

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र पत्नी जमुना गुरुङले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि आर्थिक सहयोग गर्ने भएका छन्।

    उनीहरू दम्पत्ती मिलेर १८ वर्षमुनिका बालबालिकालाई १२ कक्षा सम्मको अध्ययनका लागि सहयोग गर्ने भएका हुन्।

    राष्ट्रिय बाल अधिकार परिषद् (एनसीआरसी) सँग भएको समझदारीपत्र (एमओयू) अनुसार एमआईटी ग्रुप फाउन्डेसनले फाउन्डेसनले बाढी प्रभावित बालबालिकालाई ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गरेको हो।

    फाउन्डेसनका अनुसार सहयोगअन्तर्गत बालबालिकाको अवस्था र आवश्यकताका आधारमा शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचारलगायत अन्य अत्यावश्यक आवश्यकता पूरा गर्न सहयोग गरिनेछ।

    शेष घलेले सामाजिक सञ्जालमा लेख्दै बाढीको पानी घटेपछि पनि प्रभावित बालबालिकाको जीवनमा त्यसको असर लामो समयसम्म रहने बताएका छन् । फाउन्डेसनले उनीहरूको भविष्यमा सहयोग पुर्याउने उद्देश्यले दीर्घकालीन परियोजना अघि बढाएको उनले उल्लेख गरेका छन् ।

    ‘बाढीको पानी घटे पनि यसको असर लामो समयसम्म रहन्छ । जुन कुनै पनि बालबालिकाले भोग्न नपरोस्। यी बालबालिका र उनीहरूका परिवारले भोग्नुपरेको पीडाले मेरी श्रीमती र मलाई निकै भावुक बनाएको छ,’ उनले लेखेका छन्,’ यस्तो कठिन समयमा मात्र नभई आगामी वर्षहरूमा पनि उनीहरूलाई सहयोग गर्ने छौ । सहयोग गर्न पाएकामा हामी आफूलाई भाग्यमानी ठान्छौँ। आफ्नो शिक्षालाई निरन्तरता दिन सकून्, आवश्यक आधारभूत आवश्यकता पूरा गरुन र भविष्यमा राम्रो भएर अघि बढुन भन्ने हाम्रो चाहना हो।’

    फाउन्डेसनले बालबालिकाले आफ्नो शिक्षा निरन्तरता दिन सकून्, आधारभूत आवश्यकता पूरा गर्न सकून् र भविष्यप्रति आशावादी भएर अघि बढ्न सकून् भन्ने उद्देश्यले सहयोग गर्न लागिएको जनाएको छ। यो सहयोग केवल आर्थिक सहायता नभई बालबालिका हुर्कँदै जाँदा निरन्तर साथ दिने दीर्घकालीन प्रतिबद्धता भएको उल्लेख गरिएको छ।

    बाढीका कारण बालबालिकाले भोगेको कठिनाइले उनीहरूको भविष्यका अवसरलाई प्रभावित गर्न नदिने उद्देश्यले सहयोगलाई कक्षा १२ सम्म निरन्तरता दिन लागिएको फाउन्डेसनले जनाएको छ।

    प्रतिकृया दिनुहोस्