News Portal

  • किन निलम्बनमा परे बीमा सर्भेयर संघका सभापति कोइराला ?

    आर्थीकसंसार संवाददाता२८ भदौ, २०८३
    ३५ पटक
    २८ भदौ, २०८३

    काठमाडौं । नेपाल बीमा सर्भेयर संघले संघका सभापति ऋषि कोइरालालाई निलम्बन गरेको छ ।

    संघका अनुसार संघका सदस्य, सर्भेयर, बीमा कम्पनी तथा अन्य सरोकारवालाबाट प्राप्त लिखित तथा मौखिक गुनासामाथि छलफल गर्दै कोइरालाई सभापतिबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

    संघले विधान, २०५९ को दफा ७(क) र ७(ग) बमोजिम कोइरालाको साधारण सदस्यता तत्काल प्रभावकारी हुने गरी र सभापति पदबाट समेत अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको जनाएको छ ।

    संघले उठेका विषयहरू प्रारम्भिक रूपमा हेर्दा संस्थागत सुशासन, विधानको पालना तथा पेशागत प्रतिष्ठासँग प्रत्यक्ष सम्बन्धित देखिएकाले निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको जनाएको छ ।

    संघका अनुसार निलम्बन अवधिभर कोइरालाले संघको सभापति वा सदस्यको हैसियतमा कुनै पनि निर्णय, पत्राचार, प्रतिनिधित्व वा सार्वजनिक अभिव्यक्ति गर्न पाउने छैनन् ।

    संघमा उठेका विषयमा निष्पक्ष छानबिनका लागि सचिव लोचन केन्द्र देवकोटाको संयोजकत्वमा तीन सदस्यीय स्वतन्त्र छानबिन समितिसमेत गठन गरिएको छ ।

    समितिले सम्बन्धित पक्षसँग लिखित स्पष्टीकरण माग गर्ने, सफाइको पूर्ण अवसर दिने तथा आवश्यक प्रमाण संकलन गरी एक महिनाभित्र कार्यसमितिसमक्ष प्रतिवेदन पेस गर्ने जनाइएकाे छ ।

    प्रतिवेदन प्राप्त भएपछि कार्यसमितिले विधानबमोजिम अन्तिम निर्णय गरिनेछ ।  आरोप पुष्टि नभएको ठहर भएमा निलम्बन स्वतः फुकुवा हुने व्यवस्था छ ।

    संघले यो निलम्बनलाई कुनै पनि आरोप पूर्वनिर्णीत भएको अर्थमा नलिन स्पष्ट पारेको छ । निष्पक्ष र प्रभावकारी छानबिन सुनिश्चित गर्न गरिएको प्रक्रियागत व्यवस्था मात्रै भएको संघले जनाएको छ ।

    सघले संघ-संस्थागत सुशासन, पारदर्शिता, सामूहिक निर्णय प्रणाली तथा सर्भेयर पेशाको मर्यादाप्रति प्रतिबद्ध रहेको जनाउँदै सम्पूर्ण सदस्य, नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, बीमा कम्पनीहरू तथा सरोकारवाला निकायहरूलाई छानबिन प्रक्रियामा सहयोग गरिदिन र आधिकारिक सूचनाबाहेकका विषयमा भ्रमित नहुन आग्रहसमेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्