News Portal

  • माछापुच्छ्रे क्यापिटलको सातौँ साधारण सभाबाट ७ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२४ भदौ, २०८३
    ८ पटक
    २४ भदौ, २०८३

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बुधबार काठमाडौंको गैरीधारास्थित बालुवाटार प्यालेस बैंक्वेटमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

    सभामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

    सम्बोधनका क्रममा कोइरालाले माछापुच्छ्रे क्यापिटलको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दै आगामी दिनमा कम्पनीले थप सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत मन्तव्य दिँदै गत आर्थिक वर्षमा हासिल भएका प्रमुख उपलब्धि, सामना गर्नुपरेका चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

    साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पनि सर्वसम्मत रूपमा पारित भएको छ ।

    सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ ।

    त्यसैगरी, कम्पनीको चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । करसहित कुल २ करोड ४३ हजार ७६५ रुपैयाँ नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।

    सभाको समापनमा अध्यक्ष विश्वम्भर न्यौपानेले कम्पनीप्रति विश्वास र निरन्तर साथ दिने सम्पूर्ण सेयरधनी तथा सरोकारवालाप्रति आभार व्यक्त गरे ।

    उनले नियामक निकाय, लेखापरीक्षक, सेवाग्राही, कानुनविद्, सञ्चारकर्मी, साझेदार संस्था, कर्मचारी तथा माछापुच्छ्रे बैंकप्रति पनि धन्यवाद व्यक्त गरे ।

    सबै सरोकारवालाको निरन्तर सहयोग र विश्वासका साथ कम्पनीलाई आगामी दिनमा अझ सुदृढ, सक्षम र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्