News Portal

  • लगानी बोर्डको सीईओ भट्टलाई काम गर्ने कानुनी बाटो खुल्यो

    आर्थीकसंसार संवाददाता३२ साउन, २०७७
    ६६७ पटक
    ३२ साउन, २०७७

    काठमाडौं । उच्च अदालत पाटनको संयुक्त इजलासले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सोमबारदेखि काम गर्न पाउने भएका छन् । उच्च अदालत पाटनले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश दिएसँगै भट्टले सोमबारदेखि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्न पाउने भएका हुन् ।
    न्यायाधीशद्वय ईश्वरराज आचार्य ठाकुरपप्रसाद शर्मा पौडेलको संयुक्त इजलासले त्यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी ध्रुव सुवेदीले जानकारी दिए ।
    भट्टको नियुक्तिविरुद्ध परेको रिटमाथि गत साउन २६ गते प्रारम्भिक सुनुवाई गर्दै अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले तत्कालको लागि कुनै पनि काम नगर्न, नगराउन अन्तरकालिन अन्तरिम आदेश जारी गरेको थियो । साथै, अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न आइतबारलाई दुवै पक्षलाई बोलाइएको थियो ।
    दुवै पक्षका कानून व्यवसायीको छलफलसँगै अदालतले आइतबार एमिकस क्युरीबाट समेत सो सम्बन्धमा राय लिएको थियो । सो रायपछि अदालत यस्तो निष्कर्षमा पुगेको हो । मन्त्रिपरिषद्को साउन १९ गते बसेको बैठकले योजना आयोगका सदस्य सुशील भट्टलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर सो पदको लागि भट्टको योग्यता नपुग्ने र व्यक्तिगत स्वार्थ भएकोले बोर्डको सञ्चालक समितिको बैठकमा उनको उपस्थितले स्वार्थ बाझिने भन्दै सो नियुक्तिलाई तत्काल बदर गर्न माग गर्दै साउन २५ गते अधिवक्ता जयबहादूर भुजेलले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

    प्रतिकृया दिनुहोस्