
१४ भदौ, २०८३ काठमाडौं । भदौ १० गते आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा कार्यरत करिब ९ सय जना सम्पर्कविहीन भएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजनामा ८९८ जना सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन हुनेको संख्या रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सबैभन्दा धेरै छ ।
२१६ मेगावाट क्षमताको उक्त आयोजनामा ५७६ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ । यहाँबाट २५४ जनाको उद्धार भइसकेको छ भने करिब ३०० जना अझै सुरुङभित्र फसेको बताइएको छ ।
त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना, २० मेगावाटको लाङटाङ खोला आयोजनामा ४२ जना, २२ मेगावाटको चिलिमेमा ८ जना, ५ मेगावाटको मैलुङ खोलामा ७ जना र १२० मेगावाटको रसुवा–भोटेकोशी आयोजनामा ४ जना सम्पर्कविहीन छन् ।
लाङटाङ खोलामा सम्पर्कविहीनमध्ये १८ जनाको उद्धार भए पनि २५ जना अझै सुरुङभित्र रहेको जनाइएको छ। मैलुङ खोलाका ७ जना पनि सुरुङमै फसेका छन् ।
यस्तै, नुवाकोटका चार जलविद्युत् आयोजनामा पनि १६८ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।
जसअनुसार ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ मा १२२ जना, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ मा ४२ जना, १९.६ मेगावाटको मिडल त्रिशूली गंगामा २ जना, २४ मेगावाटको त्रिशूली आयोजनामा १ जना र १४.९ मेगावाटको देवीघाट आयोजनामा १ जना सम्पर्कविहीन छन् ।
माथिल्लो त्रिशूली–३ ‘बी’ बाट ११ जनाको उद्धार भइसकेको छ ।
बाढीपछि आयोजनाका कर्मचारी तथा कामदारको उद्धारलाई प्राथमिकतामा राखिएको छ ।
विशेषगरी सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा प्राविधिक टोलीले निरन्तर प्रयास गरिरहेका छन् ।