News Portal

  • यी हुन् सर्वदलीय बैठकका १० निर्णय

    आर्थीकसंसार संवाददाता११ भदौ, २०८३
    ३५ पटक
    ११ भदौ, २०८३

    काठमाडौं । सर्वदलीय बैठकले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र परिचालन गर्नुपर्नेमा जोड दिँदै १० बुँदे साझा संकल्प गरेको छ ।

     

     

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार (आज) सर्वदलीय बैठक बसेको हो ।

     

     

    बैठकले विपद्को कठिन परिस्थितिमा राजनीतिक मतभेदभन्दा माथि उठेर उद्धार, राहत र पुनःस्थापनाका काममा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

    बैठकले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन दलका नेता तथा कार्यकर्तालाई मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, विपद् प्रभावितका लागि आर्थिक सहयोग संकलन गर्दा एकद्वार प्रणाली लागू गर्ने सहमति भएको छ ।

    बैठकले हिमतालहरूको जोखिम र अवस्थाबारे वैज्ञानिक अध्ययन गर्न पहल गर्ने तथा भविष्यमा यस्ता विपद्का कारण हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

    त्यसैगरी, विपद्बाट क्षतिग्रस्त संरचना तथा क्षेत्रको पुनःनिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण अभियान सञ्चालन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

    आवश्यक स्रोत जुटाउन अन्तर्राष्ट्रिय संघसंस्था तथा सहयोगी निकायलाई सहयोगका लागि अपिल गर्ने निर्णयसमेत भएको छ ।

    बैठकले विपद्पछिको उद्धार, राहत, उपचार र पुनःस्थापनामा राज्यका सबै संयन्त्रलाई समन्वयात्मक रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएको छ ।

    सर्वदलीय बैठकले विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्दै प्रभावित नागरिकको जीवनरक्षा र पुनःस्थापनालाई प्राथमिकतामा राखेर अघि बढ्ने साझा प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्