News Portal

  • बाढीको वितण्डाबाट बचाउन राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न सभामुखको निर्देशन

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८३
    ४२ पटक
    १० भदौ, २०८३

    काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सभामुख अर्यालले घाइतेहरूको तत्काल उद्धार, बेपत्ताहरूको खोजी र पीडित तथा विस्थापितहरूलाई राहत उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराए।

    उनले भने– ‘यस दुःखद घडीमा राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ। बाढी प्रभावित क्षेत्रमा आवश्यक समन्वय र उद्धार कार्यलाई तीव्रता दिन म नेपाल सरकारलाई निर्देशन दिन्छु।’

    सभामुख अर्यालले सरकारी निकायका साथै निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजलाई समेत यो मानवीय सङ्कटको समयमा एकजुट भई सहयोग र समन्वयका लागि हार्दिक आग्रह गरे।
    मुलुकमा परेको यो ठुलो विपद् र संसद्मा समेत शोकको वातावरण रहेकाले आजको अन्य कार्यसूचीहरू थाती राख्दै सभामुखले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्। प्रतिनिधिसभाको अर्को बैठक आगामी बिहीबार दिउँसो १ बजे बस्ने गरी तोकिएको छ।

    बाढीका कारण सिर्जना भएको सङ्कटलाई ध्यानमा राख्दै सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले बाढीको कारण र क्षतिको विवरणबारे सदनलाई जानकारी गराइसकेका छन्।

    प्रतिकृया दिनुहोस्