News Portal

  • नाइमा एक्स्पो सकिएलगत्तै नाडा अटो शोको रौनक, नयाँ मोडलदेखि ‘यात्री पी२’ सम्म

    आर्थीकसंसार संवाददाता३ भदौ, २०८३
    ६२ पटक
    ३ भदौ, २०८३

    काठमाडौं । भदौ लागेसँगै काठमाडौंको मौसम फेरिन थालेको छ । कहिले घाम, कहिले बादल, यही माहोलबीच भृकुटीमण्डपमा अटोप्रेमीहरूका लागि विशेष रौनक थपिँदैछ । भदौ ९ देखि १४ गतेसम्म सवारीसाधनका पारखी र नयाँ गाडी किन्ने तयारीमा रहेका ग्राहकका लागि भृकुटीमण्डपमा नाडा अटो शोको १८औ‌ं संस्करण आयोजना हुन लागेको हो ।

    नेपाली अटोमोबाइल बजारमा पहिलादेखि आयोजना हुँदै आएको अटो मेलामा नयाँ सवारीसाधन, प्रविधि र विभिन्न ब्रान्डका आकर्षण एकै ठाउँमा देख्न पाइनेछ । नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) ले आफ्नो स्थापनाको ५० औं वर्ष (गोल्डेन जुब्ली) मनाउँदै गर्दा यस वर्षको शोलाई विगतको तुलनामा झन् विशेष, भव्य र सुविधायुक्त बनाउने तयारी गरेको छ ।

    नाइमा मोबिलिटी एक्स्पो सकिएसँगै सुरु हुन लागेको यो मेलाले नेपाली अटो बजारमा नयाँ उत्साह सञ्चार गरेको छ । यस वर्षको नाडा अटो शो केवल प्रदर्शनी मात्र होइन, यो प्रविधि र आधुनिकताको संगम भएको नाडाले दाबी गरेको छ । मेलामा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्शियल गरी कुल ५१ वटा ब्राण्डले आफ्ना उत्पादनहरू प्रदर्शन गर्दैछन् । विशेषगरी चारपाङ्ग्रे (कार) तर्फ २३ वटा ब्राण्डको सहभागिताले उपभोक्तालाई छनोटको फराकिलो अवसर दिनेछ ।

    पछिल्लो समय विद्तीय सवारीसाधन (ईभी) तर्फ बढ्दो आकर्षणलाई सम्बोधन गर्न नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा ब्राण्डका नयाँ मोडलका साथै  अन्य मोडलहरू पनि नाडा अटो शोमा राख्दैछ ।

    यस्तै, बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले यसअघि सम्पन्न नाइमा एक्स्पोमा राखेका तिनै मोडल नाडा अटो शोमा राख्ने जनाएको छ । कम्पनीका अनुसार एटो १ एटो २ एटो ३ र डेन्जा नाइमामा राखेको थियो । साइमेक्सले नाडामा एटो २ को नयाँ सेग्मेन्ट ल्याउने तयारी गरिरहेको छ ।

    यसैगरी, सीजी मोर्टसले आफ्ना विभिन्न ब्राण्डका गाडीहरू अटो शोमा राख्ने तयारी गरिरहेको छ । जसमा सुजुकी, अइओन, रिडारा, आवटर र जेटौर रहेका छन् । एमएडब्लु वृद्धि मार्टसले पनि आफ्ना विभिन्न ब्राण्ड दिपल, नाम्मी, स्कोडा, चाङ्गन र एमहिरो अटो शोमा राख्ने तयारी गरिरहेको छ ।

    नाइमा एक्स्पोमा सहभागिता जनाएको प्रोटोन ईमास गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोर्टसले पनि नाइमा एक्स्पोमा राखेका मोडल इमास५ र इमास७ राख्ने तयारी गरिरहेको बताएको छ । गिली गाडीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले पनि आफ्ना विभिन्न मोडलहरु प्रदर्शनीमा राख्ने जनाएको छ ।

    जेएमईभी गाडीको आधिकारिक बिक्रेता शौर्य अटोमोबाइल्सले पनि जेएमईभीका मोडलहरु राख्ने बताएको छ । यस्तै, नाइमा एक्स्पोमा सहभागि भएको पारामाउन्ट मोर्टसले एमजी विभिन्न मोडलहरु प्रदर्शनीमा राख्ने जनाएको छ ।

    यसैगरी, जीडब्ल्युएम (ग्रेट वाल मोटर) गाडीको नेपालका लागि आधिकारिक बिक्रेता वा आयातकर्ता भीजी इम्पेक्स प्रालिले जीडब्ल्युएमका विभिन्न मोडलहरू राख्ने जनाएको छ । नाइमा एक्स्पोमा सहभागि रहेको सांग्रिला मोर्टसले पनि लिपमोटरका विभिन्न मोडल राख्ने बताएको छ । जी मोटर्स स्काईवेलका विभिन्न मोडल रहने जनाइएको छ ।

    नाइमा एक्स्पोमा सहभागि भएको ओमोडाजस्ता नामहरू पनि प्रदर्शनीमा देखिनेछन् । सुजुकी र स्कोडा जस्ता स्थापित ब्राण्डहरूले पनि आफ्ना नयाँ मोडेलका साथ उपभोक्तालाई लोभ्याउने निश्चित छ । नाइमा मोबिलिटी एक्स्पोमा सहभागी भएका धेरै ब्राण्डहरू यसपटक नाडामा पनि दोहोरिँदै छन् ।

    अटो कम्पनीहरूका अनुसार दुवै अटो शोमा सहभागी हुनुको मुख्य उद्देश्य व्यापार विस्तार र ग्राहकसँगको प्रत्यक्ष सामीप्यता नै हो । वुलिङ र चेरी जस्ता ब्राण्डहरूले पनि यस मेलामा आफ्नो उपस्थिति जनाउने बलियो सम्भावना छ, जसले प्रतिस्पर्धालाई अझ रोचक बनाउनेछ ।

    साना व्यवसायीदेखि सौखिनसम्मलाई लक्षित

    नाडा अटो शो केवल विलासी कारमा मात्र सीमित छैन । मेलामा १७ वटा लाइट कमर्शियल भेइकल ब्राण्डहरूको पनि सहभागिता रहनेछ । त्यस्तै, नाडामा १७ लाइट कमर्शियल ब्राण्डले सहभागिता जनाउँदै छन् । जसमा एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका फोटोन, डोङफेङ र सोकन रहनेछन् ।

    सीजी मोर्टसको किङलङ, शशिला मोटर्स प्रालिले हाइगर र फारिजोन, एसटीसी अटो सोलुसन्ले जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, कुजु नेपाल प्रालिले डीएफएसके, मेगा मोटर्स र त्रिवेणी मोटोकर्प कामा, इकोअटो र जी.एल. लामा अटो नेपालले न्यू गोनो अटो, अकवेल नेपालले ओकवेल, एनईभी नेपाल प्रालिले दीगो, एलआरआर मोटर्सले स्काईवर्थ ईभी, ईभी गो नेपालले कावेल अटो,  एभरग्रिन इनर्जी एण्ड इन्भेस्टमेन्ट प्रालिले फेइदी र एकता मोटर्स प्रर्दशनमा रहनेछ । यी बाहेक व्यवसायीहरूले थप अन्य सवारीसाधन प्रदर्शन गर्नेछन् ।

    यसैगरी, दुईपाङ्ग्रेतर्फका सौखिनहरूका लागि १३ वटा अर्थात् मोटरसाइकल तथा स्कुटर ब्रान्डहरू जस्तै एमएडब्लू वृद्धि मोर्टसको यामाहा र सीजी मोर्टसको हिरो पनि प्रदर्शनीमा रहनेछन् । अटो शोको मुख्य आकर्षणका रूपमा हेरिएको नेपालमै उत्पादन भएको यात्री पी २ मोटसाइकल रहनेछ । सिप्रदी-यात्रीले संयुक्त रूपमा निर्माण गरेको पी २ पहिलोपटक अटो शोमा सार्वजनिक हुन लागेको हो ।

    यसैगरी, त्रिवेणी ग्रुपको रोयल इनफिल्ड, सीजीको हिरोअन्तर्गत दुईपाङ्ग्रे ईभी सवारीसाधन प्रदर्शनीमा रहनेछन् । चिनियाँ ब्राण्ड क्युजे र मेटा ईभीले अटो शोमा पहिलो पटक सहभागिता जनाउने छन् । भारतमा उत्पादित रेभोल्ट र एम्पेयरका विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन अटोशोमा सहभागी हुँदैछन् ।

    यसैगरी, अटो शोमा नयाँ मोटरसाइकल भित्र्याउने तयारीमा रहेको यामाहासँगै भेस्पा अप्रिलिया पनि सहभागी हुँदैछन् । चिनियाँ मोटरसाइकल ब्राण्ड जोनसेन र एमसी अटो ब्राण्डको गर्जनदेखि नेपाली मौलिक ब्राण्ड यात्री नयाँ ईभी बाइकहरू एम्पियर र रिभोल्टसम्मको आकर्षण रहनेछ ।

    यस्तै, अन्य स्टलहरूमा १० वटा वित्तीय तथा बीमा सेवाप्रदायक र अटो पार्ट्स, टायर, लुब्रिकेन्ट्ससम्बन्धी करिब ७० वटा स्टल नाडाले जनाएको छ ।  सवारीसाधन किन्नु धेरैका लागि ठूलो आर्थिक निर्णय हो । यही निर्णयलाई सहज बनाउन मेलामा १ दर्जन बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति रहनेछ ।

    नबिल, एनआईसी एशिया, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक लगायतका संस्थाहरूले ग्राहकलाई लक्षित गर्दै सस्तो ब्याजदर र आकर्षक कर्जा योजनाहरू (लोन स्किम) सार्वजनिक गर्ने तयारी गरेका छन् । सवारी किन्नेबित्तिकै त्यसको सुरक्षाका लागि शिखर इन्स्योरेन्स लगायतका बीमा कम्पनीहरू पनि स्टलमै उपलब्ध हुनेछन् । यसले गर्दा ग्राहकले एकै थलोमा सवारी छनोट, फाइनान्सिङ र बीमाको सुविधा पाउनेछन् ।

    सवारीसाधनका साथै यस वर्ष टायर, लुब्रिकेन्ट, ब्याट्री र स्पेयर पार्टसका दर्जनौं स्टलहरू रहनेछन् । यसले पुराना सवारी धनीहरूलाई पनि आफ्नो साधनको मर्मत र स्तरोन्नतिका लागि नयाँ जानकारी दिनेछ ।

    प्रतिकृया दिनुहोस्