

२८ साउन, २०८३काठमाडौं । सिटिजन्स बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ६३.०५ प्रतिशत बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यससँगै बैंकको खुद नाफा एक वर्षमा ८१ करोड १५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि ८.७१ रुपैयाँबाट बढेर १३.५३ रुपैयाँ पुगेको छ । यसले बैंकको आम्दानी क्षमतामा सुधार भएको देखाउँछ ।
बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ८.९५ प्रतिशतबाट बढेर ९.२३ प्रतिशत पुगेको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १२.४७ प्रतिशतमा कायम रहेको छ । यसले बैंकको प्राथमिक पुँजी आधार थप बलियो हुँदै गएको संकेत गर्छ ।
बैंकको नाफा वृद्धिमा इम्पेरिमेन्ट एक्सपेन्समा आएको ६९.०५ प्रतिशतको ठूलो गिरावट पनि महत्वपूर्ण रहेको छ । अघिल्लो वर्ष २ अर्ब ६८ करोड रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यस वर्ष घटेर ८२ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ । करिब १ अर्ब ८५ करोड रुपैयाँको इम्पेरिमेन्ट खर्च घट्नुले बैंकको खुद नाफामा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको देखिन्छ ।
त्यस्तै, बैंकको कस्ट अफ डिपोजिट ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशत तथा आधार दर ६.२५ प्रतिशतबाट घटेर ५.०४ प्रतिशतमा आएको छ । यी सूचकमा आएको सुधारले बैंकको फन्डिङ लागत तथा ब्याजदर व्यवस्थापनमा सकारात्मक परिवर्तन भएको देखाउँछ ।
साथै, खुद शुल्क तथा कमिसन आम्दानी ६.३३ प्रतिशतले र खुद व्यापार तथा अन्य सञ्चालन आम्दानी ५१.१२ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा आवश्यक समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ३.३७ प्रतिशत कायम छ । खुद नाफा र वितरणयोग्य नाफाबीचको अन्तर मुख्यतः नियामकीय समायोजनका कारण देखिएको बैंकले जनाएको छ ।
यस क्रममा डिफर्ड ट्याक्स एसेट्समा ४३ करोड ३८ लाख रुपैयाँ तथा गैर बैंकिङ सम्पत्तिमा २९ करोड १० लाख रुपैयाँ बराबरको समायोजन भएको छ ।
गत असार मसान्तसम्म बैंकले २ खर्ब ३१ अर्ब ७३ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब १४ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षसम्म बैंकले २ खर्ब ११ अर्ब ५० करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
बैंकको खराब कर्जा (एनपीएल) अनुपात अघिल्लो वर्षको ५.८८ प्रतिशतबाट घटेर ४.८९ प्रतिशतमा झारेको छ ।