News Portal

  • ज्योति बैंकले बीमा पोलिसी धितो राखेर कर्जा दिने

    आर्थीकसंसार संवाददाता२४ माघ, २०७७
    २२१३ पटक
    २४ माघ, २०७७

    काठमाडौं । ज्योति विकास बैंकले बीमा पोलिसी खरिद गरेकै भोलिपल्ट कर्जा दिने स्किम ल्याएको छ । बैंकले सरेण्डर भ्यालुको ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सहायक महाप्रबन्धक रामहरी आचार्यले जानकारी दिए । बीमितिले आवधिक र अधिविकर्ष ‘ओडि’ दुबै प्रकृतिका कर्जा प्राप्त गर्न सक्ने छन् । अधिविकर्ष कर्जा लिएमा हरेक वर्ष नविकरण गर्नुपर्ने हुन्छ । आवधिक कर्जाको हकमा भने १० वर्षसम्मका लागि प्राप्त हुने बैंकले जनाएको छ ।
    यदि बीमितले एक लाख रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको छ भने उसले बैंकबाट लगभग ६० देखि ७० हजार रुपैयाँ बराबरको कर्जा प्राप्त गर्न सक्ने आचार्यले बताए । बैंकले बीमितलाई प्रचलित आधार व्याजदरमा २ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा उपलब्ध गराउन सक्ने छ । यसमा थप ०.५ प्रतिशत सेवा शुल्क भुक्तानी गर्नुपर्छ । बीमा कम्पनीहरुले पोलिसी खरिद गरेर दोस्रो वर्षको बीमा शुल्क तिरेपछि मात्रै कर्जा उपलब्ध गराउछन् । तर, बैंकले पोलिसी खरिद गरेको भोलिपल्टै यस्तो कर्जा दिने छ । बीमा कम्पनीले दुई वर्ष नभई कर्जा नदिने भएकाले बैंकमा बीमितको आकर्षण बढ्ने आचार्यले दाबी गरे ।

    बैंकले पहिलोपटक पोलिसी नै बनाएर यस्तो कर्जाको स्किम ल्याएको हो । सामान्यतया अन्य बैंकहरुले पनि बीमालेख धितो राखेर कर्जा प्रदान गर्दै आएका छन् । यो स्किममा १९ वटै जीवन बीमा कम्पनीबाट पोलिसी खरिद गरेकाले कर्जा प्राप्त गर्न सक्ने छन् । बीमितले पाउने अधिकतम कर्जाको मूल्याङ्कन सम्बन्धित बीमा कम्पनीले नै उपलब्ध गराउने आचार्यले बताए । सरेण्डर भ्यालुको मूल्याङ्कन बैक आफैले गर्न नसक्ने भएकाले सम्बन्धित कम्पनीको सहयोग लिने भएको हो ।

    प्रतिकृया दिनुहोस्