News Portal

  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७औं वार्षिकोत्सव सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ माघ, २०७७
    ७०६ पटक
    २२ माघ, २०७७

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवको कार्यक्रम आज (२०७७ माघ २२ गते) सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद वस्यालले अध्यक्षता गर्नुभएको थियो ।
    सो समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय पार्वत गुरुङले नेपाल टेलिकमलाई ग्राहकको विश्वास प्राप्त, भरोसायोग्य, प्रतिस्पर्धामा अब्बल सावित भएको मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायकका रुपमा स्थापित गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आर्थिक वर्षमा फाइभजीको परीक्षण गर्न पनि निर्देशन दिनुभयो । दूरसञ्चारको पूर्वाधार विकास गर्ने सम्बन्धमा मुलुकमा हाल विद्यमान ढिलाई र बढ्दो लगानी न्यूनीकरण गर्न पूर्वाधार विकासका लागि छुट्टै कम्पनी स्थापना गर्न सुझाव दिनुभयो । यसैगरी उहाँले समग्र व्यवस्थापन, नीति, सेवागत क्षेत्रमा देखिएका चुनौतीहरुका सम्बन्धमा वार्षिकोत्सवका अवसरमा समीक्षा गरी तिनलाई सम्बोधन गनुपर्ने आवश्यकता औंल्याउनु भयो । कम्पनीको दिर्घकालीन रणनीति तय गरी प्रतिस्पर्धात्मक वातावरणमा सबल रहिरहन Strategic Management Partner को व्यवस्था गर्नुपर्ने तथा प्रविधिको विकासक्रम अनुसार GSM 5G सेवाको विस्तारका लागि हाल उपलब्ध भइरहेको फ्रिक्वेन्सीको समुचित उपयोग गर्न पनि सुझाव दिनुभयो । कम्पनीको विशिष्ट कार्यप्रकृति र कर्मचारीहरुको वृत्ति विकास तथा ग्राहकवर्गलाई उपलब्ध गराउन सकिने उच्चस्तरीय सेवाहरु सुनिश्चित गर्न सक्नेगरी कर्मचारी विनियमावली शीघ्र कार्यान्वयन गर्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा कम्पनीका सेवाहरुका बारेमा Artificial Intelligence को उपयोगमार्फत जानकारी हासिल गर्न सकिने च्याटबट (Chatbot) सेवाको Soft Launch गर्ने कार्य पनि माननीय मन्त्रीबाट सम्पन्न भयो ।

    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले महामारीका समयमा मानवीय सेवा र गतिविधिलाई निरन्तर, सहज र सामान्य बनाउनेतर्फ ग्राहकवर्गले उपयोग गरेका अनलाईन कक्षा, अनलाईन बैठक, अनलाईन किनमेललाई कम्पनीका सेवाहरुले निकै सहयोग गरेकाले यसलाई निरन्तरता दिन फोरजी र एफटीटीएच सेवाको विस्तारलाई थप प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले संकटको समयमा पनि कम्पनीका सेवाहरु निरन्तर रुपमा उपलब्ध गराइरहन सहयोग पु¥याउने सम्बन्धित निकायहरु र कर्मचारीवर्गलाई धन्यवाद दिनुभयो ।
    सो कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा कम्पनीले नाफालाई मात्र प्राथमिकतामा नराखी मुलुकका सबै भूभाग र वस्तीहरुमा सेवा प्रदान गरेकाले नै कम्पनीको ग्राहकआधार अन्य सेवा प्रदायकहरुको भन्दा बढी भएतापनि राजश्वमा सोअनुरुप वृद्धि हुन नसकेको वास्तविकता उल्लेख गर्नुभयो । उहाँले पूर्वाधारको सहप्रयोगबाट कम्पनी थप लाभान्वित हुनसक्ने पनि बताउनु भयो ।


    नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले १७औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधासहितको फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस (4G Wireless Home Broadband Service-WHBB) र मेसिन टु मेसिन डाटा र एसएमएस प्याक M2M Data and SMS Pack) सेवाको सुरुवात गरेको बताउनु भयो । फोरजी वायरलेस होम ब्रोडव्याण्ड सेवाबाट एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाइफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले (सीपीई) प्रयोग गरी सुलभ दरमा इन्टरनेट प्रयोग गर्न सक्नेछन् । उक्त सीपीईमा 4G WHBB को सिमकार्ड प्रयोग गरी गुणस्तरीय र सस्तो डाटा सेवा प्रयोग गर्न सकिन्छ । हाल यो सेवा प्रतिमहिना रु. ९ सयमा ६० जिबी, रु. १५ सयमा १२० जिबी, वार्षिक रु. ९,६०० मा ७२० जिबी र रु. १६,००० मा १,४४० जिबी उपलब्ध हुनेछ ।
    व्यावसायिक उपकरणहरुबीच डाटा आदान प्रदान गरी सवारीसाधन लगायत अन्य उपकरणहरुको Location Update गर्ने, Logistics Management गर्ने प्रयासहरु विश्वव्यापी रुपमै वृद्धि भइरहेको परिप्रेक्ष्यमा कम्पनीले आजैबाट सुरु गरेको ‘मेसिन टु मेसिन डाटा र एसएमएस प्याक’ कार्यालय प्रयोजनका लागि आकर्षक हुने अपेक्षा गरिएको छ ।
    यसै अवसरमा नेपाल प्रहरीलाई प्रविधिमा आधारित सेवा सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले ७ थान अत्याधुनिक कम्प्युटर प्रदान गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा कम्पनीले गरीब तथा असहाय बालबालिकाको मुटुको भल्भ फेर्ने कार्यमा शहीद गंगालाल राष्ट्रिय हृदयसँग सहकार्य गर्ने कार्यक्रम पनि सार्वजनिक गरियो ।
    सोही कार्यक्रममा प्रमुख अतिथी माननीय मन्त्री गुरुङ र कार्यक्रमका सभापति कम्पनी सञ्चालक समितिका अध्यक्षले कम्पनीको सत्रौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाहरुमा आवाज दिने कलाकारहरु, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरु, कोरोनाको महामारीमा कम्पनीसँग सहकार्य गरी स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाहरुलाई सम्मान तथा पदक प्रदान गरिएको थियो । समारोहमा माननीय मन्त्री गुरुङ तथा कम्पनी सञ्चालक समितिका अध्यक्षले कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र पनि वितरण गर्नुभयो ।

     

    प्रतिकृया दिनुहोस्