११ असार, २०८३काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) को बीमा, क्षति मूल्याङ्कन र मर्मत सम्भारमा देखिएका चुनौती तथा समाधानका उपायबारे नेपाल बीमा प्राधिकरणले सरोकारवालासँग छलफल गरेको छ ।
प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा विद्युतीय सवारी साधनको क्षति मूल्याङ्कनमा एकरूपता कायम गर्ने, देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने तथा सवारी बीमासम्बन्धी विद्यमान व्यवस्थामा सुधारका लागि सुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले नेपालमा ईभीको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै परम्परागत मोटर बीमा पोलिसीलाई परिमार्जन गर्ने वा विद्युतीय सवारीका लागि छुट्टै बीमालेख ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिए ।
उनले छुट्टै बीमालेख आवश्यक देखिएमा सवारी निर्माता, डिलर, यातायात व्यवसायी, बीमा कम्पनी, सर्भेयरलगायत सबै सरोकारवालासँग परामर्श गरेर अघि बढिने बताए । जोखिम विश्लेषणका लागि ईभीको आयात, बिक्री, प्रयोग, क्षति, मर्मत, दाबी र भुक्तानीसम्बन्धी विश्वसनीय तथ्यांक आवश्यक भएकाले त्यसतर्फ ध्यान दिन पनि उनले आग्रह गरे ।
प्राधिकरणका अर्का निर्देशक निर्मल अधिकारीले सरकारले अघि सारेको तेस्रो पक्ष बीमा नीतिअनुसार मोटर बीमामा सुधार र ईभी बीमाको आवश्यकताबारे सुझाव लिन कार्यक्रम आयोजना गरिएको बताए । उनले क्षति मूल्याङ्कनमा एकरूपता, ह्रासकट्टी तथा अन्य समसामयिक विषयमा स्पष्ट धारणा दिन सरोकारवालालाई आग्रह गरे ।
अन्तरक्रियामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन, रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स, नेपाल सर्भेयर संघ तथा बीमक संघ नेपालका प्रतिनिधिहरूले ईभीको वर्तमान अवस्था, बीमा दाबी, सर्भे, मर्मत र चुनौतीबारे प्रस्तुति दिएका थिए ।
सहभागीहरूले परम्परागत सवारीको तुलनामा ईभी महँगो हुने भएकाले बीमा दाबी रकम पनि बढी हुने गरेको बताए । मर्मतभन्दा पार्टपूर्जा प्रतिस्थापनमा बढी जोड दिइने, जोखिम मूल्याङ्कन पर्याप्त रूपमा नहुने तथा ईभीका लागि छुट्टै बीमालेख आवश्यक रहेको धारणा पनि उनीहरूले राखे ।
त्यसैगरी, ईभी चालकलाई विशेष तालिमको आवश्यकता, मर्मतका लागि पर्याप्त वर्कसपको अभाव, ब्याट्रीमा उच्च ह्रासकट्टी, पार्टपूर्जामा सहुलियत नहुँदा बढ्दो मर्मत खर्च तथा प्रयोगपछि ब्याट्री व्यवस्थापनसम्बन्धी स्पष्ट नीति आवश्यक रहेको विषय पनि छलफलमा उठाइएको थियो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अधिकारीहरू, अटोमोबाइल व्यवसायी, सर्भेयर तथा बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
