News Portal

  • सभामुखको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

    आर्थीकसंसार संवाददाता१७ जेठ, २०८३
    १५ पटक
    १७ जेठ, २०८३

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा नियमावली विपरीत व्याख्या गरिएको भन्दै सभामुखका केही अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ ।

    आइतबार आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएपछि एमालेले नियमापत्ति जनाउँदै सभामुखको भनाइप्रति आपत्ति जनाएको हो ।

    एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रतिनिधिसभा नियमावलीको नियम ५६ सम्बन्धमा सभामुखबाट गरिएको व्याख्या नियमावलीको मर्म र व्यवस्थाविपरीत रहेको दाबी गरे ।

    उनले सभामुखले नियमावलीको गलत अर्थ लगाएको भन्दै त्यससम्बन्धी अभिव्यक्ति संसद्को आधिकारिक अभिलेख (रेकर्ड) बाट हटाउन माग गरे ।

    महरले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालनका क्रममा सभामुखले दिएको व्याख्याले संसदीय अभ्यास र नियमावलीमा उल्लेखित व्यवस्थालाई नै प्रभावित गर्ने अवस्था सिर्जना गरेको बताए ।

    उनले नियमावलीमा स्पष्ट रूपमा उल्लेख भएका प्रावधानलाई फरक ढंगले व्याख्या गर्नु उचित नहुने उल्लेख गर्दै सभामुखको उक्त भनाइ रेकर्डमा राख्न नहुने धारणा राखे ।

    प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा सांसदहरूलाई प्रश्न सोध्न दिइएको समय र त्यससम्बन्धी सभामुखको व्याख्यालाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच मतभेद देखिएको छ ।

    एमालेले सभामुखको व्याख्या नियमावलीअनुकूल नभएको जिकिर गरिरहेको छ भने यस विषयमा संसद्मा थप छलफल हुने सम्भावना रहेको छ ।

    प्रतिकृया दिनुहोस्