११ बैशाख, २०८३काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेडबीच एनपीएस–एनसीएस (NPS-NCS) अन्तर्गत नेपाल पे कार्डसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्र आदानप्रदान गरिएको हो ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियिरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियिरिङ हाउस लिमिटेडमार्फत उपलब्ध हुने एनपीएस नेसनल कार्ड स्विच (National Card Switch–NCS) तथा डोमेस्टिक कार्ड स्किम नेपालपे (Domestic Card Scheme–NepalPay Card) को प्रमुख सदस्य बनेको छ ।
यससँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले निकट भविष्यमा नेपाल पे कार्डसम्बन्धी विभिन्न सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
सम्झौता–पत्र आदानप्रदान कार्यक्रममा नेपाल क्लियिरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, कार्ड बिजनेस प्रमुख पविन्द्र राजभण्डारी तथा कार्ड अपरेसन प्रमुख प्रविन आचार्यको उपस्थिति रहेको थियो ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उपकार्यकारी अधिकृत पवन रेग्मी, डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख गगन सिंह घिमिरे, विभागीय उपप्रमुख हेमन्त जिसी, प्रबन्धक राजेश कुमार मोक्तान, उपप्रबन्धक समिरा आचार्य लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म ३१४ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३३२ एटीएम र ९९ शाखारहित बैंकिङ सेवामार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई कर्जा, निक्षेप तथा आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
