News Portal

  • नबिल बैंकद्वारा ग्राहकको गोपनीयतासम्बन्धी भ्रामक जानकारीको खण्डन

    आर्थीकसंसार संवाददाता११ बैशाख, २०८३
    ३ पटक
    ११ बैशाख, २०८३

    काठमाडौं । केही दिनयता विभिन्न सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा नबिल बैंकले ग्राहकको गोपनीयता भंग गरी ग्राहकको कारोबारसम्बन्धी जानकारी चुहावट गरेको भन्ने आधारहीन तथा प्रमाणविहीन प्रचार–प्रसार भइरहेकोप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता भ्रामक सूचनाले जनमानसमा बैंकिङ सेवाप्रतिको विश्वासलाई प्रभावित पार्ने प्रयास गरेको देखिएकाले बैंकले यस किसिमको भ्रमपूर्ण तथा प्रमाणविहीन सम्प्रेषणको स्पष्ट रुपमा खण्डन गरेको छ।

    एउटा दैनिक पत्रिकामा प्रकाशित समाचारहरुमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न मितिमा भएका कारोबारहरु प्रकाशित भएको तथ्यलाई नजरअन्दाज गर्दै केही व्यक्तिहरुद्वारा सामाजिक सञ्जालमार्फत बैंकविरुद्ध नियोजित रुपमा दुष्प्रचार गरिएकोप्रति ध्यानाकर्षण बैंकले जनाएको छ।

    बैंक सम्पूर्ण सरोकारवालाहरुलाई स्पष्ट रुपमा जानकारी गराउन चाहन्छ कि कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि, वा नियामकीय तथा अनुसन्धानकारी निकायहरुले कानुनी प्रक्रिया अनुसार मागेको अवस्थाबाहेक बैंकले कुनै पनि सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई उपलब्ध गराउन मिल्दैन, गराउँदैन र गराएको पनि छैन। बैंकको कुनै पनि ग्राहकको विवरण कसैले लिएको अवस्थामा बैंकको रेकर्डमा कुन मितिमा, कुन कर्मचारीले, कुन प्रयोजनका लागि निकालेको हो भन्ने सम्पूर्ण विवरण तथा लगत बैंकको प्रणाली अर्थात् कोर बैंकिङ सिस्टममा सुरक्षित रुपमा अभिलेखित रहन्छ।

    यस सम्बन्धमा बैंकमाथि लगाइएका सम्पूर्ण आरोप तथा अनुमानहरु गलत, भ्रामक तथा आधारहीन रहेको कुरा स्पष्ट पार्दछौं। इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकको हैसियतले नबिल बैंकले प्रचलित कानुन, नियमन, प्रावधान तथा निर्देशन एवं आन्तरिक सुशासन तथा सूचनासम्बन्धी नीतिहरुको पूर्ण रुपमा पालना गर्दै ग्राहक सूचनाको पूर्ण गोपनीयता कायम गर्न कटिबद्ध रहेको जानकारी गराएको छ। बैंकिङ गोपनीयता कायम राख्नु तथा ग्राहकको सूचनाको संरक्षण गर्नु बैंकिङ नैतिकता तथा अनुपालनको आधारभूत सिद्धान्त हो। ‘बैंकले यस सम्बन्धमा सधैं उच्चतम मापदण्ड तथा अभ्यासहरुको पालना गर्दै आइरहेकोसमेत जानकारी गराउन चाहन्छौँ’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नबिल बैंकजस्तो जिम्मेवार, चार दशकभन्दा बढीको विश्वसनीय इतिहास भएको बैंकले कुनै ग्राहकको व्यक्तिगत विवरण कुनै अनधिकृत व्यक्तिलाई हस्तान्तरण गर्ने वा जानकारी दिने सम्भावना छैन र रहँदैन।’

    सूचनाको स्पष्ट स्रोतसहित प्रकाशित समाचारलाई बंग्याउँदै बैंक सम्बन्धमा दुष्प्रचार गर्ने व्यक्ति तथा निकायलाई तथ्यहीन दुष्प्रचार नगर्न तथा जनमानसलाई भ्रमित नपार्न बैंकले आग्रह गरेको छ। ‘साथै, नियोजित दुष्प्रचार गर्ने व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानूनअनुसार कानूनी कारबाहीको प्रक्रियामा जान बैंक बाध्य हुनेछ’, विज्ञप्तिमा भनिएको छ।

    बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा सरोकारवालाहरुमा यस्ता दुष्प्रचारमा विश्वास नगर्न हुन अनुरोध पनि बैंकले गरेको छ। यसका साथै, बैंकले ग्राहक गोपनीयतामा सधैँ सचेत रही, ग्राहक सुरक्षासम्बन्धी विभिन्न प्रविधिहरुको प्रयोगमार्फत उच्चतम सुरक्षित सेवा प्रदान गर्दै आएको र भविष्यमा पनि निरन्तर उच्च गुणस्तरीय, विश्वसनीय सेवा दिन सधैँ कटिबद्ध रहेको पुनः विश्वास दिलाएको छ।

    प्रतिकृया दिनुहोस्