७ बैशाख, २०८३काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरू पुनः सक्रिय गराउने उद्देश्यले विलम्ब शुल्कमा छुट योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेका अवस्थामा बीमितहरूलाई सहज रूपमा नवीकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले ‘विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३’ लागू गरिएको हो । यसअन्तर्गत २०८३ वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
रजत जयन्तीको अवसरमा कम्पनीले पहिलो पटक यति ठूलो छुट योजना ल्याएको जनाएको छ । ३० दिनको अवधिमा लागू हुने यस योजनाबाट व्यतीत बीमालेख भएका बीमितहरूले उल्लेख्य लाभ लिन सक्ने कम्पनीको विश्वास छ ।
नेपाल लाइफले सम्पूर्ण बीमितहरूलाई यस अवसरको सदुपयोग गर्दै बीमालेख नवीकरण गरी निरन्तर बीमा सुरक्षा सुनिश्चित गर्न अनुरोध गरेको छ । करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले देशभरका ७७ जिल्लामा फैलिएको शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै व्यतीत बीमालेख पुनः सक्रिय गराउने उद्देश्यले योजना ल्याइएको बताए । उनले बीमितहरूलाई यस अवसरको उपयोग गरी आफ्नो तथा परिवारको भविष्य सुरक्षित बनाउन आग्रह गरे ।
