News Portal

  • राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धानमा परिसंघ र तथ्याङ्क कार्यालयले सहकार्य गर्ने

    आर्थीकसंसार संवाददाता२४ चैत, २०८२
    ६ पटक
    २४ चैत, २०८२

    काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसङ्घबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क, सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले एक समझदारी भएको छ । मुलुकको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीति निर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्क जरुरी आवश्यक रहेकाले उक्त समझदारी गरिएको हो ।

    तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीति, निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिका तथ्याङ्क सङ्कलन, विश्लेषण तथा उपयोगलाई सुदृढ गरी तथ्याङ्कीय गुणस्तर अभिवृद्धि गर्न सरकारी निकाय र निजी क्षेत्र सङ्घसंस्थासँग सहकार्य समन्वय गर्ने रणनीति अनुरूप यो समझदारी भएको उल्लेख गरिएको छ ।

    कार्यालय प्रमुख डा. कमलप्रसाद पोख्रेल र परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थितिमा कार्यालयका निर्देशक डा.वेदप्रसाद ढकाल र परिसङ्घका महानिर्देशक डा.घनश्याम ओझाले हस्ताक्षर गरे । सो अवसरमा परिसङ्घका अध्यक्ष पाण्डेले यो सहकार्यले निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथ्याङ्क सङ्कलन, विश्लेषण तथा उपयोगलाई सुदृढ बनाउन सहयोग गर्ने बताए ।

    तथ्याङ्क कार्यालय प्रमुख डा.पोख्रेलले सरकारी तथा निजी क्षेत्रबीच तथ्याङ्क प्रणाली विकासमा सहकार्य, राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित तथ्याङ्कको गुणस्तर सुधार तथा प्रयोग विस्तारमा सहयोगी हुने बताए । समझदारीअनुसार परिसङ्घ र कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, निजी क्षेत्र तथ्याङ्क प्रणाली विकास, अनुसन्धान तथा नीति अध्ययन, तथ्याङ्क आदानप्रदान, क्षमता विकास, प्रचारप्रसार तथा जनचेतनामा सहकार्य हुनेछ ।

    प्रतिकृया दिनुहोस्