News Portal

  • अर्थतन्त्रको बागडोर सम्हाल्न डा. स्वर्णिम वाग्ले बने अर्थमन्त्री

    आर्थीकसंसार संवाददाता१३ चैत, २०८२
    १२ पटक
    १३ चैत, २०८२

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा अर्थमन्त्रीका रूपमा डा. स्वर्णिम वाग्ले नियुक्त भएका छन् । तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित वाग्ले मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहनेछन् ।

    सार्वजनिक नीति र अर्थतन्त्रका क्षेत्रमा लामो समयदेखि परिचित वाग्ले २०८० वैशाखमा सम्पन्न तनहुँ-१ को उपनिर्वाचनबाट पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट ३८ हजार ४० मतसहित पुनः निर्वाचित भएका हुन् ।

    अर्थशास्त्री, नीतिगत विज्ञ तथा योजनाविद्का रूपमा पहिचान बनाएका वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अर्थमन्त्री बनेका हुन् । गोरखा जिल्लामा जन्मिएका उनी सामान्य परिवारमा हुर्किएका हुन् । प्रारम्भिक शिक्षादेखि नै अध्ययनमा रुचि राख्ने वाग्ले उच्च शिक्षाका लागि विदेश गएका थिए ।  अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) हासिल गरेका उनले विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक सुधारका क्षेत्रमा विशेष अध्ययन तथा अनुसन्धान गरेका छन् । उनले लन्डन स्कुल अफ इकोनमिक्स, हार्वर्ड विश्वविद्यालय तथा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरेका छन् ।

    उच्च शिक्षापछि वाग्लेले संयुक्त राष्ट्रसङ्घसँग आबद्ध विभिन्न कार्यक्रमहरूमा कार्य गर्दै विकास, गरिबी न्यूनीकरण तथा आर्थिक नीतिका क्षेत्रमा अनुभव हासिल गरेका थिए । सन् २०१४ मा नेपाल फर्किएपछि उनले राष्ट्रिय योजना आयोगको सदस्य तथा पछि उपाध्यक्षका रूपमा कार्य गर्दै दीर्घकालीन विकास योजना, आर्थिक सुधार र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका थिए ।

    एसिया-प्रशान्त क्षेत्रका विभिन्न देशहरूको आर्थिक नीति निर्माणमा समेत योगदान पुर्याएका वाग्ले संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को एसिया-प्रशान्त क्षेत्रीय प्रमुख आर्थिक सल्लाहकारका रूपमा समेत कार्यरत थिए ।

    लामो समयसम्म नेपाली कांग्रेससँग निकट रहेका वाग्ले २०७९ चैतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका हुन् । नीतिगत क्षेत्रमा लामो अनुभवपछि उनले सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । हाल उनी रास्वपाका उपसभापति समेत हुन् ।

    डा. वाग्ले ‘नीतिगत क्षमता भएको नेतृत्व’ का रूपमा चिनिन्छन् । अर्थतन्त्र र विकास नीतिमा उनको अनुभवले सरकारको आर्थिक नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्