News Portal

  • फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व

    आर्थीकसंसार संवाददाता१ चैत, २०८२
    १० पटक
    १ चैत, २०८२

    काठमाडौं । सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब आम्दानी गर्ने लक्ष्य राखेको सरकारले ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख राजश्व संकलन गरेको हो ।

    गत आवको सोही अवधिसम्म ७ खर्ब २९ अर्ब ६५ करोड ८८ लाख संकलन भएको थियो । समीक्षा अवधिमा भ्याट, अन्तःशुल्क भन्सार महसुल लगायत शीर्षकको राजस्व संकलन बढेको छ भने अन्य शीर्षकमा भने सरकारले राजश्व सोचेअनुसार उठाउन सकेको छैन ।

    अर्थ मन्त्रालयका अनुसार आयकर, ब्याजकरसहितका शीर्षकमा अघिल्लो वर्षको तुलनामा राजश्व उठाउन सकेको छैन ।

    आयकरतर्फ फागुनसम्म १ खर्ब ७० अर्ब ९० करोड रुपैयाँ आयकर संकलन भएको छ । गत आवको फागुनसम्म भने १ खर्ब ७३ अर्ब २६ करोड संकलन भएको थियो । गत आवको फागुनसम्म २२ अर्ब ५९ करोड ४६ लाख ब्याज कर संकलन भएको थियो । जबकि चालु आवमा १९ अर्ब ५१ करोडमात्रै संकलन भएको छ ।

    भन्सार महसुल चालु आवको फागुन मसान्तसम्ममा  १ खर्ब ५५ अर्ब ९० करोड संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धि कर २ खर्ब २५ अर्ब ५३ करोड संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    सरकारले फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको थियो ।

    आठ महिनामा कति भयो खर्च ?

    सरकारले चालु आर्थिक वर्षको आठ महिनामा ९ खर्ब २६ अर्ब कुल बजेट खर्च गरेको छ । चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो ।

    चालुतर्फ ११ खर्ब ८० अर्ब बजेटमध्ये  सरकारले ६ खर्ब ४२ अर्ब खर्च गरेको छ । यता विकास बजेट भने सरकारले खर्च गर्न सकेको छैन ।

    पुँजीगततर्फ ४ खर्ब ७ अर्ब बजेटमध्ये सरकारले ७८ अर्ब खर्च गरेको छ  ।

    सार्वजनिक ऋणको सावा ब्याजसहितको दायित्व व्यवस्थापनमा सरकारले ३ खर्ब ७५ अर्ब बजेट छुट्याएकोमा हालसम्म २ खर्ब ५ अर्ब भन्दा बढी रकम खर्च गरिसकेको छ । पछिल्लो समय विदेशी मुद्रामा देखिएको उतारचढावले पनि सरकारलाई ऋण व्यवस्थापनमा चुनौती थप्दै गएको छ ।

    प्रतिकृया दिनुहोस्