२८ माघ, २०८२काठमाडौं । नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल कोअपरेसन एन्ड एंगेजमेन्ट (NIICE) ले ‘क्षेत्रीय सहनशीलता: नेपाल–भारत सुरक्षा सहकार्य सुदृढीकरण’ विषयमा नेपाल–भारत विङ्क ट्याङ्क फोरम आयोजना गरेको छ। कार्यक्रममा दुवै देशका वरिष्ठ विज्ञ तथा विश्लेषकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा भारतको युनाइटेड सर्भिस इन्स्टिच्युट अफ इन्डियाका महावनर्देशक (सेवानिवृत्त) उप–एडमिरल सञ्जय जसजीत सिंहले नेपालीहरूको साहस र वीरताले भारतीय सैन्य शक्ति र राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । साथै, उनले अग्निवीर योजनाले युवाहरूलाई अनुशासित र सक्षम बनाउँदै समाजलाई सशक्त बनाउने उल्लेख गरे ।
भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरनले नेपाली युवाहरूसँगको अन्तरक्रियाबाट आफू प्रभावित भएको जनाउँदै नेपाल–भारत सम्बन्धको भविष्य निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।
त्यस्तै, इन्डिया फाउन्डेसनका कार्यकारी उपाध्यक्ष आलोक बन्सलले सीमापार आतंकवाद र यसको प्रभावबारे चर्चा गरे भने जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक सङ्गीता क्रियालले शैक्षिक तथा अनुसन्धान सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
काउन्सिल फर स्ट्राटेजिक एन्ड डिफेन्स रिसर्चका सह–संस्थापक डा. गौरव सैनीले खुला सीमाका कारण उत्पन्न सुरक्षा चुनौती, मानव तस्करी, लागुऔषध ओसारपसार र नक्कली मुद्राजस्ता अपराधबारे सचेत गराए । साथै, साइबर सुरक्षा र डिजिटल सचेतनामा जोड दिनुपर्ने उनले बताए ।
कार्यक्रमको दोस्रो सत्रमा मेजर जनरल (सेवानिवृत्त) विनोज बस्न्यातले राजनीतिक स्थिरता, निर्वाचन र संस्थागत सुधारका विषयमा धारणा राखेका थिए । NIICE की निर्देशक सुमित्रा काकीले नेपाल–भारत सम्बन्ध सुदृढ गर्न शैक्षिक तथा नीतिगत तहमा सहकार्य आवश्यक रहेको बताइन् ।
कार्यक्रमको अन्त्यमा सुरक्षा सहकार्य, क्षेत्रीय स्थिरता र आपसी समझदारी विस्तारका विषयमा अन्तरक्रियात्मक छलफल सम्पन्न भएको थियो ।

