News Portal

  • स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवद्र्धन कार्यक्रम सुरु

    आर्थीकसंसार संवाददाता५ माघ, २०७७
    ७५० पटक
    ५ माघ, २०७७

    काठमाडौं । वागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले स्टार्टअप आइडिया कल कार्यक्रमअन्तगर्त युवा उद्यमी प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । शनिबार एक कार्यक्रमका बीच अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्यक्रमको सुरुवात गरेका हुन् ।
    कार्यक्रममा अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्नका लागि आत्मविश्वास, धैर्यता, विषयविज्ञता र बजारको वस्तुस्थितिबारे राम्रो ज्ञान हुन आवश्यक रहेको बताए । घरेलु, साना उद्यमी तथा सृजनशील सोच भएका युवाहरुकै लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको र यसको सफल कार्यान्वयनका लागि स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रहसमेत गरे । मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले युवा मैत्री उद्यमका कार्यक्रम मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै आगामी वर्ष युवा लक्षित कार्यक्रमलाई बढाउँदै जाने बताए ।
    राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नयाँ युवा पुस्ताको सोच माथि लगानी गर्ने कार्यक्रम नै आइडिया कल कार्यक्रम भएकाले बैंकले सुरु गरेको यो कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रह गरे । सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक सहुलियतपूर्ण कर्जा वितरणमा अन्य बैंकभन्दा निकै अघि रहेको उल्लेख गर्दै आगामी दिनमा युवा उद्यमी प्रवद्र्धनमा बैंक क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे । सोही समारोहमा नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य एवं बैंकर वर्षा श्रेष्ठ, विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, कार्यकारी निर्देशक विशाल गैरे, एड मार्क कलेजका संस्थापक शिवप्रसाद अधिकारीलगायतले उद्घाटन सत्रमा उद्यम, उद्यमशीलता र युवा सहभागीताबारे मन्तव्य राखेका थिए ।
    सरकार, वित्तीय संस्था र नीजि संस्थाको संयुक्त आयोजनामा सुरु भएको यो कार्यक्रम वागमती प्रदेशभित्रका ६ वटा (व्यवस्थापन–बीबीएरएमबीए) कलेजहरु र सामाजिक संस्थाहरु (लियोररोट्या क्लव)सँगको सहकार्यमा चितवन, हेटौडा, धुलिखेल र सिन्धुली जिल्लामा गरी १० वटा बृहत उद्यमशीलता र वित्तीय साक्षरतासहितको युवा उद्यमी प्रवद्र्धन कार्यक्रम आयोजना गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए । युवाहरुलाई उद्यम व्यवसायतर्फ आकर्षित गर्न, विद्यार्थीमा अध्ययन पूरा गरेपछि जागिर खोज्ने भन्दा आफैले नयाँ उद्यम सुरुवात गर्ने प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ सञ्चालन हुने यो कार्यक्रमको एउटा सेसनमा २०० जना युवा विद्यार्थीलाई राखेर स्वदेश तथा विदेशमा उद्यमशीलता विकास, नयाँ अवसरहरु, इनोभेसन र टेक्नोलोजी, नेपालमा नयाँ स्टार्ट अफ कम्पनीलाई सरकारले दिने अनुदान, बैंकहरुको लगानी, कम्पनी दर्ता र यसका चुनौति, बजार विस्तारलगायतका विभिन्न विषयमा केन्द्रीत रहनेगरी कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका संयोजक एवं विशाल फाउण्डेशनका कार्यकारी निर्देशक विशाल गैरेले जानकारी दिए ।
    सरकार, बैंक र सामाजिक संस्थासहितको सहभागीतामा गत मंसिर २४ गते उद्घाटन भएको नवप्रवर्तन प्रस्ताव आह्वान (स्टार्टअप आईडिया कल) कार्यक्रमलाई समेत यो कार्यक्रमले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । वाणिज्य बैंक र विशाल फाउण्डेशनले सुरु गरेको आइडिया कलकार्यक्रममा आवेदन दिने समय यही माघ मसान्तसम्म समय रहेको छ । पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्