२३ माघ, २०८२काठमाडौं । फोनलोन र कुमारी बैंक लिमिटेडको सहकार्यमा ‘कुमारी फोनलोन’ अन्तर्गत नयाँ ‘मल्टि डिस्बर्सल’ सुविधा सार्वजनिक गरिएको छ । डिजिटल बैंकिङलाई अझ लचिलो, सहज तथा ग्राहक–केन्द्रित बनाउने उद्देश्यसहित उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
यसअघि एक पटकमा एउटा मात्र कर्जा लिन मिल्ने व्यवस्थाका कारण ग्राहकले स्वीकृत सम्पूर्ण रकम एकैचोटि लिनुपर्ने बाध्यता थियो । थोरै रकम मात्र प्रयोग गर्दा पनि बाँकी सीमा उपयोग गर्न पुरानो कर्जा पूर्ण रूपमा राफसाफ गर्नुपर्ने अवस्था थियो । यही असुविधालाई मध्यनजर गर्दै ‘मल्टि डिस्बर्सल’ सुविधा सुरु गरिएको कम्पनीले जनाएको छ ।
नयाँ सुविधाअन्तर्गत ग्राहकले आफूलाई स्वीकृत कुल कर्जा सीमाभित्र आवश्यकताअनुसार रकम पटक–पटक निकाल्न सक्नेछन् । बाँकी रकम भविष्यका लागि सुरक्षित रहनेछ भने वास्तविक रूपमा प्रयोग गरिएको रकममा मात्र ब्याज लाग्नेछ । यसले ग्राहकलाई अनावश्यक ब्याजको भारबाट जोगाउने विश्वास गरिएको छ ।
साथै, कुनै पनि कागजी प्रक्रिया वा बैंक भ्रमण नगरी मोबाइल बैंकिङमार्फत तत्कालै कर्जा लिन सकिने व्यवस्था गरिएको छ । यसमार्फत ग्राहकले घरमै बसेर सहज रूपमा सेवा उपयोग गर्न सक्नेछन् ।
सेवा सार्वजनिक गर्दै फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले ग्राहकको जीवनशैली र वित्तीय आवश्यकतालाई केन्द्रमा राखेर सेवा विस्तार गर्दै आएको बताए । उनले ‘मल्टि डिस्बर्सल’ सुविधाले प्रयोगकर्तालाई कर्जामाथि नियन्त्रण, पारदर्शिता र सही सदुपयोगको अवसर प्रदान गर्ने उल्लेख गरे ।
कुमारी बैंकका योग्य ग्राहकहरूले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत बिना धितो तथा बिना कागजी प्रक्रिया तत्कालै कर्जा प्राप्त गर्न सक्नेछन् । फोनलोनले यस सुविधामार्फत नेपालको डिजिटल कर्जा प्रणालीमा नयाँ आयाम थप्दै ग्राहकको वित्तीय सहजतालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

