News Portal

  • एआई, डिजिटल र दीगो रणनीतिमा एनआईसी एसिया बैंकको फोकस, ४० लाख ग्राहक नै ठूलो सम्पत्ति

    आर्थीकसंसार संवाददाता२२ माघ, २०८२
    ११ पटक
    २२ माघ, २०८२

    काठमाडौं । पछिल्लो दुई–तीन वर्षयता बैंकिङ क्षेत्रले भोग्दै आएका चुनौतीबीच एनआईसी एसिया बैंकले दीर्घकालीन रणनीतिसहित बैंकलाई सबल र सक्षम बनाउने योजना अघि बढाएको छ ।

    बैंक परिवार एकताबद्ध भएर चुनौती स्वीकार्दै रिटेल, एसएमईसँगै कर्पोरेट र ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्दै कर्जा विविधिकरण र जोखिम व्यवस्थापनमा केन्द्रित भएको बैंकले जनाएको छ ।

    बैंकले आक्रामक व्यवसायभन्दा पनि दिगो र जिम्मेवार बैंकिङलाई प्राथमिकता दिएको उल्लेख गर्दै दीर्घकालीन योजना अनुसार काम गर्दा आगामी वर्षहरूमा सुधार देखिने विश्वास व्यक्त गरेको छ । कोभिड–१९ पछिको अवस्थामा बैंकिङ कारोबार डिजिटलतर्फ सरेसँगै सञ्चालन खर्च घट्ने र सेवा छिटोछरितो हुने बैंकको ठहर छ ।

    डिजिटल र एआईमा आधारित बैंकिङलाई भविष्यको आधार मान्दै बैंकले सेवा प्रवाह र आन्तरिक प्रणाली पूर्ण रूपमा डिजिटल र एआईमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । झन्डै ४० लाख ग्राहकलाई ठूलो सम्पत्ति मान्दै निक्षेप सुरक्षालाई प्रमुख दायित्वका रूपमा लिएको बैंकले जनाएको छ ।

    यसैगरी, बैंकले आन्तरिक वातावरण स्वच्छ, पारदर्शी र उल्लासमय बनाउने लक्ष्यसहित नयाँ पहल सुरु गरेको र ३ हजार २ सय कर्मचारीको सामूहिक प्रयासबाट बैंकलाई थप सबल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    पुँजी व्यवस्थापन मजबुत बनाउन बैंकले राइट सेयर र नन–क्युमुलेटिभ प्रिफरेन्स सेयर जारी गर्ने रणनीति लिएको छ । यसबाट इक्विटी आधार बलियो बनाउँदै कर्जा लगानी विस्तार र व्यवसायलाई सहज बनाउने बैंकको उद्देश्य रहेको छ ।

    प्रतिकृया दिनुहोस्