२० माघ, २०८२काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ब्याजदर घटाउँदै नयाँ दर सार्वजनिक गरेको छ । बैंकले माघ २० गतेदेखि लागू हुने गरी निक्षेप तथा कर्जाको ब्याजदर परिमार्जन गरेको हो ।
निफ्राले सार्वजनिक गरेको विवरणअनुसार ‘शुभ पूर्वाधार खाता’ अन्तर्गत ५ वर्षदेखि १० वर्ष अवधिका लागि संस्थागत निक्षेपकर्तालाई ३.५० प्रतिशत र व्यक्तिगत निक्षेपकर्तालाई ४ प्रतिशत ब्याजदर तोकिएको छ । यसअघि उक्त अवधिका लागि संस्थागततर्फ ४ प्रतिशत र व्यक्तिगततर्फ ४.५० प्रतिशत ब्याजदर लागू थियो ।
यस्तै, १० वर्षभन्दा बढी अवधिका लागि संस्थागत निक्षेपकर्तालाई ४ प्रतिशत र व्यक्तिगत निक्षेपकर्तालाई ४.५० प्रतिशत ब्याजदर कायम गरिएको छ । यसअघि सो अवधिका लागि संस्थागततर्फ ४.५० प्रतिशत र व्यक्तिगततर्फ ५ प्रतिशत ब्याजदर थियो ।
कर्जातर्फ बैंकले आधार दरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम थपिने जनाएको छ । हाल बैंकको आधार दर ६.७७ प्रतिशत कायम गरिएको छ, जुन यसअघि ६.८८ प्रतिशत रहेको थियो । बैंकका अनुसार परियोजना कर्जामा आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थपिनेछ भने ब्रिज ग्याप कर्जामा आधार दरमा ०.५ प्रतिशत प्रिमियम लागू हुनेछ ।

