News Portal

  • विराटनगरमा कर्जा सम्बन्धी नयाँ सफ्टवेयरबारे एकदिने कार्यशाला सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ माघ, २०८२
    १० पटक
    १४ माघ, २०८२

    विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र विराटनगर शाखाको संयुक्त आयोजनामा ‘कर्जासम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण लिने’  विषयक एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

    कार्यशालामा कोषका सदस्य संस्थाहरू एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनान्स, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडलगायत विभिन्न सदस्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रमको प्रारम्भमा कोषका कर्जा विभाग प्रमुख प्रबन्धक विक्रान्त आचार्यले कोषमा हाल सञ्चालनमा रहेका कर्जा सम्बन्धी कार्यक्रमहरूको जानकारी गराउनुका साथै सञ्चालनमा आउन लागेको नयाँ कर्जा कार्यक्रमहरूबारे सहभागीलाई अवगत गराएका थिए ।

    गोष्ठीका क्रममा सदस्य संस्थाका प्रतिनिधिहरूबाट उठाइएका जिज्ञासाहरूको जवाफ दिँदै कोषका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) रमेश घिमिरेले कोषका भावी योजना, रणनीति तथा कर्जा सुरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा भइरहेको प्रयासबारे जानकारी गराए ।

    यसैगरी, कर्जा विभागका प्रधान सहायक पुष्पा भट्टले कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको प्राविधिक तथा प्रयोगात्मक पक्षबारे प्रस्तुति दिएका थिए । सो अवसरमा सहभागी संस्थाहरूबाट प्राप्त सुझाव तथा रायहरू कर्जा विभागका सहायक अधिकृत आशिष पौडेलले संकलन गर्दै ती उपयुक्त सुझावहरू सफ्टवेयरमा समावेश गरिने र यसले भविष्यमा कर्जा दाबी तथा क्षतिपूर्ति प्रक्रियालाई थप सहज बनाउने जानकारी दिए ।

    उक्त कार्यशालामा करिब ७५ जनाको सहभागिता रहेको थियो ।

    कोषको वार्षिक नीति तथा कार्यक्रमअनुसार बैंक तथा वित्तीय संस्थासँग निरन्तर छलफल र संवाद गर्दै बजारमा कर्जा सुरक्षणको आवश्यकता पहिचान गर्ने, मौजुदा कार्यक्रमहरूमा देखिएका समस्या समाधान गर्ने तथा सुझाव संकलन गर्ने उद्देश्यले चालु आर्थिक वर्षभित्र सबै प्रदेश समेटिने गरी यस्ता गोष्ठी सञ्चालन गर्ने लक्ष्य कोषले लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्