१२ माघ, २०८२काठमाडौं । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बैंक सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
२१ वर्षदेखि सानिमा बैंकमा निरन्तर रूपमा विशिष्ट योगदान पुर्याउँदै आएका आचार्य पदभार ग्रहणअघि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा कार्यरत थिए । आफ्नो लामो सेवाकालमा उनले दशभन्दा बढी विभाग तथा शाखाको नेतृत्व गर्दै बैंकको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
शैक्षिक योग्यताका हिसाबले आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एनआईटी जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । साथै, उनले एसएलसी परीक्षा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणीमा उत्तीर्ण गरेका थिए ।
उनको प्रमुख कार्य क्षेत्र कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्तमा केन्द्रित रहेको छ । हाल उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडको अध्यक्षको रूपमा पनि कार्यरत छन् । बैंकिङ क्षेत्रबाहेक उनले इन्जिनियरका रूपमा चार वर्षभन्दा बढी व्यावसायिक अनुभव हासिल गर्नुका साथै पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा समेत सेवा प्रदान गरेका छन् ।
उनको विश्लेषणात्मक क्षमता, रणनीतिक सोच र दीर्घ बैंकिङ अनुभवका आधारमा आचार्यको नेतृत्वमा सानिमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।


