News Portal

  • राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोन ऋण’ सेवा डिजिटल संसार एपमार्फत सुरु

    आर्थीकसंसार संवाददाता११ माघ, २०८२
    १४ पटक
    ११ माघ, २०८२

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै ‘आरबीबी फोन ऋण’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ । उक्त सेवा बैंकको आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराइएको हो ।

    यो डिजिटल कर्जा सेवा एफ–वन सफ्ट समूह अन्तर्गतको फोन ऋण प्रालिद्वारा प्रदान गरिएको हो, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा प्रवाह सुनिश्चित गर्ने बैंकले जनाएको छ ।

    यस सेवामार्फत राष्ट्रिय वाणिज्य बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकहरूले हाललाई एक लाख रुपैयाँसम्मको कर्जा कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नगरी सिधै मोबाइल एपमार्फत तुरुन्तै प्राप्त गर्न सक्नेछन् । औपचारिक कर्जामा सहज पहुँच विस्तार गर्नु सेवाको मुख्य उद्देश्य रहेको छ ।

    कर्जाको सीमा तथा योग्यता बैंकले निर्धारण गरेका मापदण्डका आधारमा तय गरिनेछ । जसमा तलब जम्मा कारोबारको नियमितता, हाल कायम ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहारलाई आधार बनाइनेछ । ग्राहकहरूले एक महिनाभित्र एकमुष्ट वा १२ महिनासम्म किस्ताबन्दी प्रणालीमार्फत कर्जा चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन् । साथै, समयअगावै कर्जा भुक्तानी गर्ने सुविधा पनि उपलब्ध रहेको छ ।

    मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकहरूले आरबीबी डिजिटल संसार एपमार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराई सेवा दर्ता गर्न सक्नेछन् । योग्य ग्राहकहरूले एपको ड्यासबोर्डबाटै कर्जा आवेदन दिन सक्ने र स्वीकृतिपछि सेवा उपयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    उक्त सेवाको शुभारम्भ बैंकको ६१औँ वार्षिकोत्सव समारोहका अवसरमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गरेका हुन् । सेवाबारे जानकारी दिँदै उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौड्यालले भने, ‘आरबीबी फोन ऋण सेवामार्फत ग्राहकहरूलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल कर्जा समाधान प्रदान गर्नु हाम्रो लक्ष्य हो । प्रविधिको प्रयोगमार्फत वित्तीय सेवामा पहुँच विस्तार गर्नु बैंकको प्राथमिकता हो ।’

    आरबीबी फोन ऋण सेवाको सुरुवातले राष्ट्रिय वाणिज्य बैंकको डिजिटल बैंकिङ रूपान्तरणको यात्रालाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

    प्रतिकृया दिनुहोस्