११ माघ, २०८२काठमाडौं । कृषि विकास बैंकले प्रहरी वृत्त थानकोटलाई कम्प्युटर तथा आवश्यक कार्यालय सामग्री सहयोग प्रदान गरेको छ ।
गत भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रहरी वृत्तको भवनमा आगलागी भई क्षति पुगेपछि भवनको जीर्णोद्वार तथा सेवा प्रवाहलाई सहज, सुचारु र प्रभावकारी बनाउन बैंकले उक्त सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक मीनराज पोखरेलले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत रहेर सहयोग प्रदान गरिएको जानकारी दिए ।
उनले यस सहयोगले प्रहरी प्रशासनमार्फत आम नागरिकलाई प्रवाह हुने शान्ति–सुरक्षा तथा अन्य सेवा अझ प्रभावकारी बन्ने विश्वास बैंकले लिएको बताए ।
त्यसैगरी, प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बैंक तथा विभिन्न सामाजिक संस्था र सहयोगी हातहरूले सुरक्षा निकायप्रति देखाएको सहयोगले समग्र प्रहरी संगठनको आत्मबल बढ्ने बताइन् ।
उनले विपतको घडीमा प्राप्त सहयोगले नागरिकलाई प्रदान गरिने शान्ति–सुरक्षा सेवामा प्रत्यक्ष टेवा पुग्ने उल्लेख गर्दै सहयोग गर्ने सबै संस्था तथा निकायप्रति हार्दिक आभार व्यक्त गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धकद्वय मीनराज पोखरेल र सुशील हुमागाईं, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, बागमती प्रदेश कार्यालय काठमाडौंका वरिष्ठ शाखा प्रमुख अनिल कुमार पोखरेल, शाखा अधिकृत हरिराज थपलिया तथा थानकोट शाखाका प्रबन्धक दिलबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।
त्यस्तै, प्रहरी वृत्त थानकोटको तर्फबाट वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरी, प्रहरी वरिष्ठ नायब निरीक्षकद्वय अमृत भँडेल र ओमकार चन्द, प्रहरी निरीक्षक दिपेन्द्र थापासहित अन्य प्रहरी कर्मचारीहरूको पनि सहभागिता रहेको थियो ।


