२४ पुस, २०८२काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको इटहरी शाखामा एक व्यक्तिले कलुसित मनसायका साथ प्रवेश गरी बैंक कर्मचारीमाथि गालीगलौज तथा अभद्र व्यवहार गरेको घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
बैंकका अनुसार उक्त व्यक्तिले शाखा कार्यालयभित्र अराजक गतिविधि गर्दै हुलहुज्जत र होहल्ला मच्चाएको थियो । बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह हुने स्थानमा यस्ता गैरकानूनी तथा उच्छृङ्खल गतिविधि अस्वीकार्य भएको बैंकले स्पष्ट पारेको छ ।
बैंक कार्यालयभित्र आगजनी तथा जिउज्यानमा हानी पुर्याउने उद्देश्यसहित पेट्रोलजस्ता अति प्रज्वलनशील पदार्थ छर्कनेजस्ता कानूनद्वारा बर्जित गम्भीर क्रियाकलापले बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सिर्जना भएको बैंकको भनाइ छ । यस्ता गतिविधिले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बैंकिङ क्षेत्रको काम गर्ने वातावरणमा गम्भीर असर परेको र कर्मचारीहरूले असुरक्षा महसुस गर्न थालेको बैंकले जनाएको छ ।
कुनै पनि बहानामा कर्मचारीमाथि हुने अभद्र व्यवहार सह्य नहुने उल्लेख गर्दै बैंकले उक्त घटनामा संलग्न व्यक्तिमाथि सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानूनबमोजिम कारबाही गर्न माग गरेको छ । साथै बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरूको शान्ति–सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग बैंकले आग्रह गरेको छ ।


