News Portal

  • सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२२ पुस, २०८२
    १३७ पटक
    २२ पुस, २०८२

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्लास्थित हरिवन नगर अस्पताललाई विभिन्न अत्याधुनिक प्रसूति उपकरण हस्तान्तरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले पुस १७ गते आयोजित कार्यक्रममा उक्त उपकरणहरू अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

    उपकरण हस्तान्तरण कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

    बैंकले हाइड्रोलिक शल्यक्रिया टेबल, चार सेटयुक्त एलईडी शल्यक्रिया कक्ष डोम बत्ती, बिरामी निगरानी यन्त्र, पाँच कार्य गर्न सक्ने पूर्ण सुविधायुक्त इलेक्ट्रिक आईसीयू बेड, फाइबर बेडसाइड लकर तथा इलेक्ट्रिक डबल जार हाई–भ्याकुम सक्सन मेसिन गरी सबै उपकरण एक–एक थान अस्पताललाई उपलब्ध गराएको हो ।

    हरिवन नगर अस्पतालको नवनिर्मित भवनमा शल्यक्रियासहित बर्थिङ सेवा सञ्चालन गरी समुदायमा गुणस्तरीय प्रसूति सेवाको पहुँच विस्तार गर्ने तथा आमा र नवजात शिशुका लागि सुरक्षित र सहज प्रसूति वातावरण सुनिश्चित गर्ने उद्देश्यले उपकरण सहयोग गरिएको बैंकले जनाएको छ ।

    सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकतामा राख्दै समाज विकासमा योगदान पुर्याउने उद्देश्यसहित विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने योजना बैंकको रहेको छ ।

    प्रतिकृया दिनुहोस्