२७ मंसिर, २०८२काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्छ भन्ने कसैले पनि नसोचे हुने बताएका छन् । शनिबार भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा पार्टीको एघारौ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचन हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट नभाग्ने अध्यक्ष ओलीको भनाई थियो । उनले मुलुकमा निर्वाचन गराउने दिशामा सरकार नरहेको जिकिर समेत गरे ।

अध्यक्ष ओलीले भने,‘हाम्रो स्पष्ट माग छ–प्रतिनिधिसभा तुरुन्त पुनस्थापना होस् । देश संविधान र लोकतन्त्रको बाटोमा फर्कियोस । सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ । चुनावको मिति तोकिएको छ । तर के तयारी केही भईरहेको छ ? देखिँदैन । चुनाव चाहने सरकारले गर्थ्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता हुन्थ्यो । सभा, जुलुश गर्न खुला वातावरण बनाउथ्यो । दललाई चुनावमा सहभागी हुन प्रोत्साहित गर्दथ्यो ।’
अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने दिशामा कुनै काम नगरेको जिकिर समेत गरे ।


