
काठमाडौं । नबिल बैंकको ३६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको अध्यक्ष उपेन्द्र पौड्यालको अध्यक्षतामा बसेको ३६औं वार्षिक साधारणसभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार साधारणसभामा पेश गरेअनुसार आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
यसै साधारणसभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भएको छ । आव २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३७ अर्ब पुर्याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयरपश्चात बैंकको शेयर पुँजी यस बर्ष रु. १३ अर्ब ४८ करोड नाघेको छ ।
साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड्यालले भने ‘नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।’ हामी ठूलो बैंकसँगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा छौं । बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा लागेको छ । बैंकले स्थापनाकालदेखि हालसम्म रू. २१ अर्बभन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ ।