News Portal

  • ६ सय अर्बको ग्लोबल आइएमई बैंक, देशकै ठूलो वाणिज्य बैंक

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०८२
    ७ पटक
    २५ कार्तिक, २०८२

    काठमाडौं । ग्लोबल फाइनान्स म्यागजिनले ‘बेस्ट बैंक अवार्ड २०२५’ को विजेता घोषणा गर्दा नेपालबाट ग्लोबल आइएमई बैंकले पुनः अन्तर्राष्ट्रिय स्तरमा चर्चामा पायो । लगातार दोस्रो वर्ष नेपालकै उत्कृष्ट बैंकको उपाधि प्राप्त गर्दै ग्लोबल आइएमई बैंकले राष्ट्रियस्तरमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा समेत आफू बलियो रहेको प्रमाणित गर्याे । उक्त पुरस्कार अमेरिकामा आयोजित समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिहरूले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीलाई प्रदान गरे ।

    सन् २०२५ मा एचएसबीसी (हङकङ), स्टेट बैंक अफ इन्डिया, चाइना कन्स्ट्रक्सन बैंक, युओबी मलेसिया, सिटी बैंक बंगलादेश र एसएमबीसी जापान लगायत देशबाट पुरस्कार प्राप्त गर्ने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक पनि सामेल भयाे ।

    बेस्ट बैंक अवार्डले बैंकको विश्वसनीयता, रणनीतिक वृद्धि विकास र ग्राहकमुखी सेवालाई झल्काएको देखिन्छ । ग्लोबल फाइनान्स म्यागेजिनले पनि बैंकहरूलाई वित्तीय मजबुती, स्रोत परिचालन, पहुँच विस्तार, डिजिटल नवप्रवर्तन, रणनीतिक साझेदारी र क्रेडिट रेटिङ जस्ता मापदण्डका आधारमा मूल्याङ्कन गरेर अवार्ड वितरण गर्छ ।

    सन् २००७ (२०६४ साल) मा स्थापना भएको ग्लोबल आइएमई बैंकको उद्देश्य नेपाललाई विश्व अर्थतन्त्रसँग जोड्ने, बलियो, नव प्रवर्तक र समावेशी वित्तीय संस्था बनाउनु हो । स्थापनाको केही वर्षमै ग्लोबल आइएमई बैंक नेपालका सबै ७७ वटै जिल्लामा पुग्ने पहिलो निजी क्षेत्रको बैंक बन्न सफल भयो । रणनीतिक मर्जरमार्फत पनि बैंकले यो उपलब्धि हासिल गर्न सफल भएकाे हाे । बैंकले क्रमशः कमर्ज एण्ड ट्रस्ट बैंक, जनता बैंक र बैंक अफ काठमाण्डूसँग मर्जर गरेर सबैभन्दा बलियो र ठूलो बन्न सफल भएको हो । राष्ट्र बैंकको नीति अनुरूप सन् २०१९ मा बैंकले जनता बैंकसँग ऐतिहासिक मर्जर गरेको थियो ।

    मर्जरका माध्यमबाट पुँजी, ग्राहक, शाखा सञ्चालन लगायतमा उल्लेखनीय रूपमा वृद्धि हासिल गरेको छ । जसले ग्लोबल आइएमईलाई नेपालकै सबैभन्दा सशक्त वाणिज्य बैंकका रूपमा उभ्याएको छ ।

    विश्वस्तरको बैंकिङ सेवा प्रदान गर्ने लक्ष्यसहित स्थापना भएको बैंकले सन् २०१४ मा दि बैंकर म्यागजिनबाट बैंक अफ द इयर अवार्ड पाएको थियो । यस्तै, डिजिटल सेवामा अग्रणी भूमिका निर्वाह गरेको भन्दै बैंकले सन् २०१६ मा बेस्ट इन्टरनेट बैंक अवार्ड प्राप्त गरेको थियो ।

    यस्तै, सन् २०२२, २०२४ र २०२५ मा युरो मनी अवार्ड फर एक्सिलेन्सबाट सम्मानित ग्लोबल आइएमईले सन् २०२४ मा बेस्ट बैंक ईएसजी अवार्ड पाएको थियो ।

    सन् २०२४ र २०२५ मा ग्लोबल फाइनान्सबाट नेपालको उत्कृष्ट बैंकको उपाधि पाएको ग्लोबल आइएमईले सन् २०२३ मा बैंक अफ काठमाण्डूलाई मर्जरका माध्यमबाट आफूमा समाहित गरेको थियो ।

    ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकाल एक दूरदर्शि व्यक्तित्व हुन् । उनको नेतृत्वमा बैंकले सुशासन, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राखेको छ ।

    विभिन्न समयमा बैंकले प्राप्त गरेका पुरस्कार ग्रहणमा अध्यक्ष ढकालले भने, ‘यी सम्मानले हामीलाई अझ उत्कृष्ट र नवप्रवर्तनशील सेवा प्रदान गर्न प्रेरित गर्छ ।’

    उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकाय, सेयरधनी, कर्मचारी र ग्राहकहरूलाई आभार प्रकट गरे ।

    सीईओ रेग्मीले बैंकलाई डिजिटल र विश्व सञ्जालमा जोडिएको भविष्यतर्फ डोर्याइरहेका छन् । सामाजिक र वातावरणीय उत्तरदायित्वलाई सन्तुलनमा राख्दै दिगो विकासमा योगदान दिने लक्ष्यका साथ बैंकिङ गरिरहेका छन् ।

    आज ग्लोबल आइएमई बैंक सन्तुलित वित्तीय आकार र सेवा सञ्जाल दुवै हिसाबले नेपालकै सबैभन्दा ठूलो निजी वाणिज्य बैंक बन्न सफल भएकाे छ । बैंककाे सञ्जालले सहरीदेखि ग्रामीण समुदायसम्म बैंकिङ सेवा पुर्याएको छ ।

    हाल बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ आउटलेट, ६८ विस्तार तथा राजस्व सङ्कलन काउण्टर र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय गरी १ हजारभन्दा बढी सञ्जालमार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

    ग्लोबल आइएमई बैंकको सफलता यसको बलियो वित्तीय संरचनामा आधारित छ । बैंकको चुक्ता पुँजी ३८ अर्ब १२ करोड रुपैयाँभन्दा बढी छ भने कुल सम्पत्ति ६ सय अर्ब रुपैयाँभन्दा माथि रहेको छ ।

    बैंकको क्यापिटल एडुकेसी रेसियो नियामक सीमाभन्दा माथि रहँदै आएको छ, जसले जोखिम व्यवस्थापनमा सजग र अनुशासित रहेको बुझिन्छ । विविध ऋण पोर्टफोलियो, बलियो निक्षेप आधार र निरन्तर नाफाले बैंकलाई नेपालको सबैभन्दा स्थायी बैंकहरूमध्ये एक बनाएको छ ।

    ग्लोबल आइएमई बैंक नेपाली कामदार र विश्व अर्थतन्त्रबीचको वित्तीय पुलसमेत बनेको छ । बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डनबाट सुरक्षित र छरितो रुपमा रेमिट्यान्स सेवा प्रदान गरिरहेको छ । डिजिटल प्लेटफर्म र स्थानीय पहुँचको संयोजनमार्फत बैंकले लाखौं प्रवासी नेपाली र उनीहरूको परिवारका लागि विश्वसनीय साझेदार बनेको छ।

    बैंकको कार्य प्रणालीको केन्द्रमा नवप्रवर्तन र दिगोपन रहेको छ । बैंकले मोबाइल र इन्टरनेट बैंकिङ, एसएमई फाइनान्स, डिजिटल वालेट र हरित ऊर्जा ऋण जस्ता सेवा विस्तार गरेको छ । जुन आधुनिक अर्थतन्त्रको आवश्यकता हुन् । बैंकले इनभाइरोमेन्टल, सोसिएल एण्ड गभर्नेन्स (ईएसजी) सिद्धान्तलाई आफ्नो रणनीतिमा समेटेको छ, जसअन्तर्गत नवीकरणीय ऊर्जा, उद्यमशीलता र वित्तीय समावेशीतामा लगानी गरिएको छ ।

    बैंकका अन्तर्राष्ट्रिय साझेदारीहरूले यसको ट्रेड फाइनान्स, विदेशी मुद्रा कारोबार र क्रस-बोर्डर ट्रान्जेक्सन क्षमतामा मजबुती ल्याएका छन् । अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयहरूले प्रवासी नेपाली र लगानीकर्ताहरूलाई नेपालमा अवसरहरू खोज्न सहज बनाएका छन् । यी साझेदारीहरूले नेपाललाई विश्व वित्तीय प्रणालीसँग थप नजिक ल्याउँदै लगानी र दिगो आर्थिक सहकार्यलाई प्रबर्द्धन गरेका छन् ।

    ग्लोबल आइएमई बैंकको प्रत्येक उपलब्धि कर्मचारीको टोलीले नै गर्दा सम्भव भएको  हो । बैंकले समावेशी र योग्यता–आधारित संस्कृतिलाई प्रोत्साहन दिँदै आएको छ । बैंकका लागि ग्राहकको विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति हो । पारदर्शिता र विश्वासले नै बैंकले लाखौं ग्राहकहरूको मन जितेको छ ।

    लगातार दोस्रो वर्ष ग्लोबल फाइनान्सबाट नेपालको उत्कृष्ट बैंकको उपाधि जित्दै, ग्लोबल आइएमई बैंक अब डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय विस्तार र दिगो वित्तीय विकासमा केन्द्रित भइसकेको छ । अध्यक्ष ढकालको दृष्टि अनुसार, ग्लोबल आइएमई नेपालकै अग्रणी मात्र होइन, क्षेत्रीय वित्तीय शक्तिका रूपमा उभिनेछ- नवप्रवर्तन, सुशासन र ग्राहक केन्द्रित सेवामार्फत विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्षम ।

    प्रतिकृया दिनुहोस्