News Portal

  • महालक्ष्मी बैंकका ग्राहकलाई सिदार्थ हस्पिटालिटीसहित विभिन्न सेवामा छुट

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०८२
    १२ पटक
    २३ कार्तिक, २०८२

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूलाई स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका सेवामा छुटको सुविधा प्रदान गर्न सिदार्थ हस्पिटालिटीसहित विभिन्न संस्थासँग सम्झौता गरेको छ । बैंकले ग्राहकमैत्री योजना विस्तार गर्दै साझेदारीका माध्यमबाट ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यका साथ यो सहकार्य अघि बढाएको हो ।

    सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरू सम्बन्धित संस्थाबाट सेवा लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताअनुसार तिनकुनेलगायतका सबै आउटलेटमा रहेको सिदार्थ हस्पिटालिटीमा आवास सेवामा २० प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

    त्यस्तै, तनहुँको बन्दीपुर माउण्टेन रिसोर्ट र बन्दीपुर बजार घरमा खाना तथा आवासमा ७ प्रतिशत छुट, सामाखुशीस्थित स्माइल ३६० डेन्टल क्लिनिकमा दन्त सेवामा २० प्रतिशत छुट, र ललितपुरको टुटेपानीमा रहेको लन्जेभिटी हेल्थ होममा अकुपञ्चर, पञ्चकर्म, प्याथोलोजी र चिकित्सक परामर्श सेवामा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था छ ।

    बैंकले यो सहकार्यबाट आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा सुलभ र किफायती बनाउने विश्वास व्यक्त गरेको छ । साथै, बैंकले हालै आफ्ना क्रेडिट कार्ड वाहकका लागि नयाँ टुर प्याकेज योजना सुरु गरेको छ, जसअन्तर्गत विभिन्न ट्राभल एजेन्सीमार्फत खरिद गरिएका टुर प्याकेजको मूल्य बराबरको रकम ६ देखि १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

    बैंकका अनुसार यस्ता सहकार्य र योजना विस्तारले ग्राहक सन्तुष्टि र डिजिटल भुक्तानी प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्