
काठमाडौं । सभामुख देवराज घिमिरेले आजको नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सके मात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजु भाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा नै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताले गरेको आन्दोलनले मुलतः समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उल्लेख गरेका छन् ।
उनले भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थितिको सृजना गरिएको र जन निर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने गैर संवैधानिक कार्य भएको उल्लेख गरे ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्ग चित्रलाई कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरूको सहभागितामा सरकार सञ्चालनको नयाँ प्रणाली अगाडि बढेको र अधिकार प्रत्यायोजन सहित स्थानीय तहलाई सबल बनाउँदै सेवा प्रवाह नागरिकको ढोका ढोकामा पुग्ने वातावरण बनेको उनको भनाइ छ ।
सभामुख घिमिरेले विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसदमार्फत नै पुनर्स्थापित गरेको तर्फ स्मरण गराउँदै लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रमात्र हुने तर्फ ध्यानाकर्षण पनि गराए ।
विसं २०७२ असोज ३ गते नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप जारी भएको संविधान नेपालको मौलिक यथार्थ र लोकतान्त्रिक प्रणालीमा आधारित महत्त्वपूर्ण संवैधानिक दस्तावेज हो । यस संविधानले सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै विविधतामा एकता, समान अधिकार र साझा गौरवको मार्ग प्रशस्त गरेको छ ।