
काठमाडौं । जेनजी आन्दोलनका क्रममा मंगलबार कृषि विकास बैंकका कर्मचारीलाई गोली लागेको छ । बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको टाउकोमा गोली लागेको कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए ।
उनका अनुसार बैंकको केन्द्रीय कार्यालयमा काम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले हान्दा बैंकका कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गोली लागेको हो ।
‘स्वास्थ्य मन्त्रालयमा आगजनी भइरहेको थियो । त्यही क्रममा गोली प्रहार हुँदा बैंकका सहयोगी कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गाेली लाग्यो । गोली कसले हानेको हाे स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘उहाँ बैंकको कम्पाउन्ड भित्रै हुनुहुन्थ्यो । काम गरिरहेको अवस्थामा गोली लागेको हो ।’
उनका अनुसार हिजो नै अन्नपुर्ण अस्पतालमा लगेर उपचार गरिएको छ । साथै, घाइेते श्रेष्ठको परिवारसहित उपस्थितिमा अप्रेशन गरेर गोली निकालिएको उनले बताए ।
‘प्रेसर स्टेबल हुन नसकेका कारण चिकित्सकको सल्लाह अनुसार आज अप्रेशन गरियो । र, गोली निकालिएको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ भनेर चिकित्सकले भन्नु भएको छ,’ उनले भने ।
यस्तै, बैंकको किर्तीपुर शाखामा रहेको एटीएम मेसिन तोडफोड गरिएको उनले बताए । तर, के कति क्षति भएको र पैसाको अवस्था के छ भन्ने स्पष्ट हुन नसकेको उनको भनाइ छ ।
‘प्रदर्शनकारीहरुले फुटाउन खोजेका रहेछन्, जेनजी समूहले नै त्यो फुटाएको एटीएम मेसिन बैंकमा आएर बुझाएका छन् । के कति क्षति भएको छ, एकिन छैन,’ उनले भने ।
उनका अनुसार लहानमा खाद्य संस्थानको डिपो जलाउन खोज्दा बैंकको शाखामा समेत क्षति पुगेको छ भने धनगढी शाखामा गाडीमा क्षति भएको छ ।
‘लहान शाखामा ढुंगामुडा गरेका छन् । कम्प्युटर र सिसाहरु फुटेको जानकारी आएको छ । खाद्य संस्थाको डिपो जलाउन खोज्दा बैंकको शाखामा क्षति पुगेको छ,’ उनले भने, ‘धनगढीको शाखामा बैंकको गाडीमा क्षति भएको सूचना छ । के कति क्षति भएको भन्ने एकिन तथ्याङ्क आएको छैन ।’
पौडेलका अनुसार बैंकका अन्य कर्मचारीहरु भने सबै सुुरक्षित रहेको जानकारी दिए । साथै बैंकको प्रणाली सूचारु राख्न आईटीका कर्मचारीहरु निरन्तर खटिरहेको उनले बताए । संकटको बेलामा बैंकका कर्मचारीहरु कसरी परिचालन गर्ने र सम्पत्ति कसरी सुरक्षित गर्ने भनेर टिम समेत खडा गरिएको उनको भनाइ छ ।