News Portal

  • लक्ष्मी लघुवित्तको किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने

    आर्थीकसंसार संवाददाता२० पौष, २०७७
    १०६६ पटक
    २० पौष, २०७७

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् ।
    इसेवाले ग्रामीण भेगमा रहेका लघु उद्यमीहरुलाई पनि डिजिटलाइज गर्ने उद्देश्यले लघुवीत्त कम्पनीहरुको भुक्तानीलाई इसेवामा आबद्ध गर्दै लगेको छ । अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले हस्ताक्षर गरेका हुन् ।
    इसेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यो सँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ । सुरुको तीन महिना लक्ष्मी लघुवित्तको रकम भुक्तानी गर्दा कुनै शुल्क लाग्ने छैन । अहिलेको विषम परिस्थितिमा भिडभाडमा जान नपर्ने भएपछि कोरोना जस्ता संक्रात्मक रोगबाट हुने जोखिम पनि न्यूनिकरण हुने छन् ।
    इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
    लक्ष्मी लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको लघुवीत्त संस्था हो । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी रहेको यस वित्तीय संस्थाका ७२ वटा शाखा रहेका छन् । संस्थाले हाल साढे ५ अर्ब कर्जा लगानी गरेको छ भने डेढ अर्बभन्दा धेरै बचत रहेको छ ।

    प्रतिकृया दिनुहोस्