News Portal

  • ‘मौद्रिक नीति छिटो ल्याएका छौं, अब बैंकलाई आगामी वर्षका कार्यक्रम बनाउन सहज हुनेछ’

    आर्थीकसंसार संवाददाता२७ असार, २०८२
    १५ पटक
    २७ असार, २०८२

    काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले पर्याप्त विश्लेषण गरेर कार्यान्वयन मुखी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइएको बताएका छन् । मौद्रिक नीति सार्वजनिक पछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले धेरै पहिल्यैदेखि तयारी गरेर मौद्रिक नीति ल्याइएको बताए ।

    उनका अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने दिनको गोपनीयता राखिएको हो ।

    खरेलले भने, ‘राष्ट्र बैंक ऐनले पनि आगामी बर्षको मौद्रिक नीति तर्जुमा गर्ने भनेको छ । यही महिनामै ल्याउनुपर्ने हो । कहिले यही महिनाको अन्त्यमा त कहिले साउनको पहिलो साता मौद्रिक नीति ल्याउने गरिएको छ । विगतमा बजेट आउन ढिलो हुँदा मौद्रिक नीति आउन समय लाग्ने गरेको थियो । १/२ गते नै सर्कुलर गरेर मौद्रिक नीतिलाई कार्यान्वयनमा लैजानेछौँ । नयाँ आर्थिक वर्ष सुरु भए लगत्तै कार्यान्वयनको गति बढ्नेछ ।’

    नेपाल राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले आगामी दिनमा पनि आर्थिक वर्ष शुरु हुनु अगावै मौद्रिक नीति ल्याउन कोसिस गरिने बताए । आगामी आवको मौद्रिक नीतिलाई केही दिनअघि नै ल्याइँदा आवश्यक तयारी पुरा गर्न सहज हुने उनको विश्वास छ ।

    पौडेलले भने, ‘यो मौद्रिक नीतिको ठूलो स्टेक होल्डर बैंक वित्त संस्था हो । बैंक तथा वित्तीय संस्थाले आगामी वर्षमा गर्नुपर्ने कार्यक्रमहरू, योजनाहरू बजेटहरुलाई पनि यो मौद्रिक नीतिले दिशा निर्देश गरेअनुसार कार्यान्वयन गर्न सहज हुनेछ । अब आगामी आवको योजनाहरू बैंक तथा वित्तीय संस्थाहरूले मौद्रिक नीतिलाई आधार बनाएर बनाउन सक्नेछन् ।’

    उनले रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समितिका प्रतिवेदनहरूलाई मौद्रिक नीतिले समेटेको बताए ।

    प्रतिकृया दिनुहोस्