News Portal

  • नेपाल टेलिकमले एनटी टिभी ब्राण्डमा एफटीटीएचमार्फत आईपी टिभी सेवा शुभारम्भ

    आर्थीकसंसार संवाददाता१७ पौष, २०७७
    ११४९ पटक
    १७ पौष, २०७७

    काठमाडौं । नेपाल टेलिकमले आज पुष १७ गते (१ जनवरी २०२१) ल्त्त्ख् (एनटी टिभी) ब्राण्डमा एफटीटीएच (Fiber To The Home-FTTH) मार्फत आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् Triple Play (ट्रिपल प्ले) को अवधारणा कार्यान्वयनमा सफलता प्राप्त गरेको हो ।


    कम्पनीको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पार्वत गुरुङले एनटी टिभी सेवाको शुभारम्भ गरेको हो । सो अवसरमा मन्त्रीले नेपाल टेलिकमले अत्याधुनिक सेवाका रुपमा एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवासमेत उपलब्ध गराउन लागेकोमा निकै उत्साहित भएको बताउँदै दिगो र भरपर्दो सेवाका लागि योजना बनाएर खटिन निर्देशन दिनुभयो । यस्ता सेवालाई देशव्यापी बनाई सबै जनतासमक्ष पुर्याई कम्पनीलाई प्रतिस्पर्धामा अब्बल सावित गराउनु कम्पनीको दायित्व भएको बताएका छन् ।
    यसैगरी समारोहका सभापति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीनथरी सेवाहरु उपलब्ध हुने एफटीटीएच सेवालाई मुलुकभर विस्तार गर्नुका साथै सेवाको मर्मत र निरन्तरतामा ध्यान दिनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले स्वागत मन्तव्य राख्दै हालसम्म मुलुकका ३९ वटा जिल्लामा एफटीटीएच सेवा विस्तार गरिएको र एफटीटीएच सेवा विस्तारमा कम्पनी पहिलो नम्बरमा रहेको उल्लेख गरेका छन् । उनले यो सेवाको विस्तारले नेपाल सरकारको डिजिटल नेपाल स्थापना गर्ने अभियानमा सहयोग पुग्ने र डिजिटल रुपान्तरणमा प्रभावकारी योगदान पुग्ने बताए ।
    कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहनु भएका ग्राहकवर्गले एनटी टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्दछ । तत्कालका लागि काठमाडौ उपत्यकाका अधिकांश स्थानहरु र काठमाडौ बाहिर बनेपामा एनटी टिभी सेवा उपलब्ध हुनेछ ।
    राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा वेसिक प्याकेज र प्रिमियम प्याकेजमा छुट्याइएको र सेवा अवधि एक महिना, तीन महिना वा एक वर्ष कायम गरिएको छ । इन्टरनेट व्याण्डविथ प्रयोगका आधारमा यसको मूल्य फरकफरक कायम गरिएको छ । उदाहरणका लागि, Basic Package (वेसिक प्याकेज) अन्तर्गत एक महिना अवधिका लागि १५ एमबिपिएस इन्टरनेट व्याण्डविथ सहितको एनटी टिभी सेवाको दर रु. १,२३० प्रतिमहिना रहेको छ भने एक वर्षको लागि १५ एमबिपिएस इन्टरनेट सहितको एनटी टिभी सेवा रु. १३,२२० मा उपलब्ध हुनेछ ।
    यसैगरी Premium Package (प्रिमियम प्याकेज) अन्तर्गत एक महिना अवधिका लागि १५ एमबिपिएस इन्टरनेट व्याण्डविथसहितको एनटी टिभी सेवा रु. १,४०० मा उपलब्ध हुनेछ भने एक वर्षका लागि ६० एमबिपिएस इन्टरनेटसहितको एनटी टिभी सेवा रु २४,५०० मा उपलब्ध हुनेछ । वेसिक र प्रिमियम दुवै प्याकेजमा एनटी नेटवर्कमा मासिक २५० मिनेट टेलिफोन गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।
    कम्पनीले तारवाला फोनका ग्राहकहरुलाई प्राविधिक रुपले सम्भव भएसम्म एफटीटीएचमा रुपान्तरण गरिरहेको अवस्थामा एफटीटीएचअन्तर्गत भ्वाइस सेवा मात्र उपयोग गरिरहेका ग्राहकलाई पनि एनटी टिभी सेवा उपलब्ध हुनेछ । यसका लागि वेसिक प्याकेजअन्तर्गत एक महिनाको एनटी टिभी सेवा रु. ४८० मा उपलब्ध हुनेछ भने एक वर्षको रु ५,७८० मा उपलब्ध हुनेछ । यसैगरी भ्वाइस सेवा मात्र उपभोग गरिरहनु भएका एफटीटीएचका ग्राहकहरुले प्रिमियम प्याकेज अन्तर्गत एक महिनाको एनटी टिभी रु. ८०० मा प्राप्त गर्न सक्नुहुनेछ भने १२ महिनाको एनटी टिभी रु ८,३०० मा प्राप्त गर्न सकिने कुरा नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ । एनटी टिभी सेवाको प्याकेज तथा दररेट र सेवा उपलब्ध हुने स्थानहरुसम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा उपलब्ध गरिएको छ ।

    प्रतिकृया दिनुहोस्