
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् वृक्षरोपण कार्यक्रम गरेको छ ।
बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षरोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरूमा वृक्षरोपण कार्यक्रम गरेको हो ।
यसै अवसरमा बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहाँ नगरपालिकाको बालचौरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा १ हजार कागतीका विरुवा रोपण गरेको हो ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नागरिकलगायत बैंकका कर्मचारीहरूको ठूलो उपस्थिति रहेको थियो ।
त्यसैगरी, बैंकले काठमाडौँको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा ३०० वटा विरुवा रोपण गरेको छ ।
बैंकले कोशी प्रदेशको दिक्तेल, प्रगती सामुदायिक बन, मेचीनगर, झापा लगायतका विभिन्न स्थानहरुमा ३,७०० वटा, मधेश प्रदेशको राजविराज, जीतपुर, लहान, गौह्र, मिथिला नगरपालिका ९भाटिघारी सामुदायिक बन० लगायतका विभिन्न स्थानमा ५,०५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका विभिन्न स्थानहरुमा २,३००, गण्डकी प्रदेशको बागलुङ र कास्की लगायतका विभिन्न स्थानहरुमा २,१००, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलेरिया, लिवाङ्ग लगायतका विभिन्न स्थानमा १,५००, कर्णाली प्रदेशको विरेन्द्रनगर र रास्कोट लगायतका विभिन्न स्थानहरुमा ७०० र सुदुरपश्चिमको बालिया, गोकुलेश्वर, वैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगर लगायतका विभिन्न स्थानहरुमा २,०८६ विरुवा रोपण सुरु गरेको छ ।
बैंकले वृक्षरोपणको लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरी शहरको सौन्दर्यकरण, सामुदायिक वन, विद्यायल, अस्पताल परिसरहरू तथा सार्वजनिक स्थानहरू छनौट गरेको छ ।
उक्त वृक्षरोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।