News Portal

  • अरुण भ्याली हाइड्रो पावरको साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता८ पौष, २०७७
    २३६० पटक
    ८ पौष, २०७७

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको २३औं वार्षिक साधारणसभा आज (पौष ८ गते) सम्पन्न भएको छ । सभा कम्पनीको कक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा भर्चुअल माध्यममार्फत सम्पन्न भएको हो ।
    सभाले सञ्चालक समितिको बैठकले निर्णय गरेबमोजिम आर्थिक वर्ष २०७६/७७ को नाफा कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् । त्यस्तै, सभाले १ः१ अनुपातको हकप्रद शेयरमध्ये प्रथम चरणमा काबेली बी१ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपुँजी लगानीको लागि २३औं वार्षिक साधारणसभाबाट पारित बोनस शेयरपश्चात कायम हुने चुक्ता पुँजीको एक बराबर ०.५ (१ः०५) को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।
    कम्पनीले हकप्रद शेयर निष्काशन गर्न असोज २१ गते बुधबार नै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरिसकेको छ । सभामा कम्पनीको आव २०७६/७७ को वार्षिक प्रतिवेदन, आव २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आव २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिएको छ ।

    प्रतिकृया दिनुहोस्