
काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले आजदेखि सुरू गरेको लागुऔषधविरूद्धको महाअभियान उद्घाटन समारोहमा गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हुँदै समाजकै लागि घातक रूपमा देखापरिरहेको बताए ।
‘लागुऔषध अत्यन्त चुनौतीका रूपमा देखिएको छ, युवाहरूमा नकरात्मक असर पारेको छ,’ गृहमन्त्री लेखकले भने, ‘सरकार र प्रहरीको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।’
लागुऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रणका लागि तीन तहका सरकारले अभियानका रूपमा सञ्चालन गर्न जरूरी रहेको बताए ।
‘लागुऔषध प्रयोगकर्ताको जीवन समाप्तितर्फ गएकै छ । समग्र परिवार नै चिन्ता र पीडामा जान्छ । यसले अरू अपराधको पनि वृद्धि गरेको छ । समाजमा विविधखालको अपराध वृद्धि भइरहेको छ, धेरै अपराधको जगमा लागुऔषध छ,’ उनले भने ।
लागुऔषधविरूद्धको महाअभियान देशव्यापी रूपमा चलाउन जरूरी रहेको भन्दै उनले विद्यालयस्तरसम्म महाअभियान पुर्याउन आवश्यक रहेको बताए ।
‘महाअभियानलाई प्रत्येक जिल्ला, पालिका र टोल, विद्यालय तथा क्याम्पससम्म जोड्नुपर्छ । यदि समयमै नियन्त्रण गरेनौँ भने १०/१५ वर्षमा एउटा पुस्ता नै नराम्रोसित प्रभावित हुने खतरा देखिराख्या छु,’ उनले भने, ‘जुन ढङ्गले लागुऔषधको ओसारपसार, भण्डारण र प्रयोग भइरहेको छ । त्यसले आगामी १०/१५ वर्षमा भयावहस्थिति ल्याउने अवस्था देखिरहको छु ।’
उनका अनुसार लागुऔषधमुक्त समाज निर्माणका लागि देशव्यापी बनाउन आवश्यक छ । प्रहरीलाई यो महाअभियान देशव्यापी रूपमा लैजान उनले निर्देशन दिए । गृहमन्त्री लेखकले यसमा सबै तहका सरकारले पनि सहयोग गर्न आवश्यक रहेको र यसलाई सबैले अभियानका रूपमा अगाडि बढाउनुपर्ने बताए ।
सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडि लागुऔषध एउटा कारकका रूपमा रहेको उनको भनाइ छ ।
‘एक दिनमा सात जनाको सवारी दुर्घटनामा मृत्यु र १७ जनाले दैनिक आत्महत्या गरिरहेको छ । यसका पछाडि पनि लागुऔषध कारक देखिन्छ,’ लेखकले भने,
‘समाजमा अपराध वृद्धि, अराजकता र बेतिथिका पछाडि लागुऔषध र मादक पदार्थ कारकका रूपमा देखापरेकाले समाजका धेरै अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण गर्न आवश्यक छ ।’
लागुऔषध नियन्त्रण गर्न सके धेरै अपराधका घटनामा कमी ल्याउन सकिने मन्त्री लेखकको भनाइ छ ।