
काठमाडौं । रन टु शाइन भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आगामी फागुन ११ गते शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्न लागेको छ । बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रुपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागेको हो । राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ । प्रतियोगितामा खुल्ला, स्थानीय – ५० बर्ष सम्म र स्थानीय -५० वर्ष भन्दा माथीको गरि तिन विधा रहेका छन् ।
प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार र पाँचौं हुनेले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलोमिटरको दौडमा ५० बर्ष सम्म र ५० वर्ष भन्दा माथीको गरि दुई विधा राखिएको छ । विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन ईच्छुक खेलाडी तथा धावकले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइट www.srdb.com.np मा गई अथवा सिधै https://srdb.com.np/campaign/shineresungaru लिंकमा गएर नाम दर्ता गर्न सक्नेछन् । दौड बैंकको केन्द्रिय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रिय कार्यालयमा पुगेर समापन हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगितामा स्थानीय पालिकाहरुको समेत समन्वय र सहकार्य हुनेछ । प्रतियोगिताको व्यवस्थापन र अपरेसनमा कखरा इभेन्ट जोडिएको छ ।
वित्तीय क्षेत्रमा विगत १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको नेपालको लोकप्रिय बैंकको रुपमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापमा आफुलाई अग्रणी रुपमा सामेल गर्दै आएको छ ।